गृहपृष्ठ लेटाङको विद्यालयको ट्यांकीमा विषादी, बिरामी विद्यार्थीको संख्या २२ पुग्यो
लेटाङको विद्यालयको ट्यांकीमा विषादी, बिरामी विद्यार्थीको संख्या २२ पुग्यो
मोरङको लेटाङस्थित एक विद्यालयको ट्यांकीमा विषादी हालेको पानी पिउँदा २२ जना विद्यार्थी बिरामी परेका छन् । जाँतेस्थित श्री माध्यमिक विद्यालयमा मंगलबार बिहान पानी पिउँदा विद्यार्थी बिरामी भएका हुन् ।
सुरुमा नौजना विद्यार्थी बिरामी भएका थिए । अहिले बिरामी हुने विद्यार्थीको संख्या २२ पुगेको विद्यालयले जनाएको छ । बिरामीलाई थप उपचारका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको प्रधानाध्यापक खमराज दुलालले जानकारी दिए ।
साइपिन नामको कीटनाशक विषादीको बट्टा विद्यालयको पानी ट्यांकीमा भेटिएको छ । पानी ट्यांकीमा कसले विषादी हाल्यो भन्नेबारे केही खुलेको छैन । कसले विष हालेको भन्ने विषयमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिए ।
साइपिन बालीमा लागेका कीरा नष्ट गर्न लगाइने विषादी भएकाले यो विषादी खाएमा तत्काल मानिस र पशुको ज्यान जान सक्ने कृषि प्राविधिकले जनाएका छन् । विद्यालयको पानी ट्यांकीमा लेटाङ-८, तेलीखोलाबाट पानी ल्याएर हाल्ने गरिएको छ । विद्यालयमा चार सय ९१ विद्यार्थी अध्ययनरत छन् ।
प्रकाशित समय १५:४८ बजे

















