गृहपृष्ठ भेडा गोठालाको ओढार जिन्दगी, भन्छन्, ‘नेपालीभन्दा भेडा ज्ञानी लाग्छ’

भेडा गोठालाको ओढार जिन्दगी, भन्छन्, ‘नेपालीभन्दा भेडा ज्ञानी लाग्छ’

पाल्पा तानेसेनका विष्णु ज्ञवालीले ‘भेडा गोठाला र देश’ शीर्षकमा एउटा कविता लेखेका छन् । ‘भेडीकोठका दाई’को भेडा जीवनमा प्रवेश गर्नुअघि उक्त कविता पढौँ ।

भेडाको नियतिमा म
सार्वकालिक सार्वभौम
गोठालाहरु नियुक्त गर्छु
मेरो सार्वभौमिकतामा प्रश्न नउठाउ
गोठालावाट शासित हुनु मेरो रहर हो
बथानमा दौडिनु मेरो चरित्रहो ।
मेरो बारेमा मसँग प्रश्न सोध्ने तिम्रो अधिकार छैन
मैले गोठालाहरु नियुक्त गरिसकेको छु
मेरो भेडिगोठको बारेमा गोठालासँग सोध
गोठालाको रहर मेरो इच्छा हो
गोठालाको विवेक मेरो सत्य हो
किनकि, मैले मेरो सार्वभौमिकता गोठालालाई दिइसकेको छु
गोठालामाथि प्रश्न नउठाउ
किनकि,
ऊ मेरो गोठालो हो
म उसको भेडो हुँ
त्यसैले भेडा र गोठालाको बीचमा देशलाई नजोड
मलाई केवल चरणको चासो छ
मेरो गोठालो मेरो चरणकोबारे चिन्तित छ
यतिखेर मेरो भेडिगोठ सार्न खोजिदैछ
चरण क्षेत्र बाँडिदैछ , भाग लगाइँदैछ
मलाई बथानबाट एकल्याउने कोशिस नगर
मेरो चरण खोसिँदैछ, भेडिगोठ सारिँदै छ
मेरो गोठालोले भनेको
त्यसैले मलाई बथानसँगै जानबाट नरोक
म भेडो हुँ ,
मलाई मेरो चरण र भेडिगोठ प्यारो छ
म अहिले थाकेको छु,
गोठालाहरुले भेडिगोठ साट्दैछन्
चरण बाँडदै छन्, मलाई डर लागेको छ
बथानमा म परिँन भने
मेरो भेडिगोठ छुटने छ
मेरो चरण खोसिनेछ
मलाई बथानमा देखिनु छ , चिनिनु छ
त्यसैले मलाई देश नसम्झाउ
तिम्रो देशको जैविक विविधतासँग मेरो कुनै चासो छैन
अथाह जल सम्पदाको कुरा नगर,
सर्वाेत्कृष्ट पर्यटकीय गन्तव्यहरु मलाई नदेखाउ
मसँग देशका कुरा नगर
तिम्रो सम्पन्नताले मेरो भेडिगोठ खोसिनु हुँदैन
मेरो चरण लुटिनु हुँदैन
भेडा र गोठालोको हाम्रो पुख्र्याेली सम्बन्ध र चिनारी भत्किनु हँुदैन
देश हाम्रा लागि केवल चरण क्षेत्र मात्रै हो
देश नेताले चलाउने हो
नेता जनताले छान्ने हो
देशका कुरा तिमी आफैँ जान
मलाई मेरो चरण क्षेत्र देउ
मलाई मेरो भेडी गोठ र गोठालोबाट नछुट्याउ

 

ज्ञवालीले यो कवितामा भेडाहरुका समस्यालाई उजागरमात्रै गरेका छैनन् मानव सभ्यता र प्राकृतिक स्वरुप पनि मासिदै गएको आसय व्यक्त गरेका छन् । उनले भेडाको भावनालाई कवितामा उतारिदिएका छन् र देशमा बढ्दै गएको बेतिथिलाइै व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेका छन् । अब चर्चा गरौँ भेडा गोठालाको जीवनबारे ।

 

हामीले खाडी मुलुकमा खाजापानी बोकेरै महिनौँसम्म भेडा चराउन गएका नेपालीको कथा त सुनेकै छौँ । तर, नेपालमै पनि महिनौँसम्म भेडा चराउन गइन्छ, जंगलको अढारमै सुतिन्छ, भेडाकै दुध खाएर दिन काटिन्छ भन्ने कमैले सुनेका छौँ ।

सिन्धुली झाँगाझोलीका नरेश मगर हिजोआज ओखलढुंगा र सोलुको उच्च पहाडी भेगका जंगलमा भेटिन्छन् । बर्षात् लागेसँगै दुई सयभन्दा बढी भेडाबाख्रा लिएर माथिल्लो भेगका जंगलतिर जाने गरेका छन् । भेडाको बथानमा उनी एक्लै छैनन् । उनको साथमा दुई साथी पनि छन् ।
बर्खा लागेसँगै गर्मी तथा बाढीपहिरोको जोखिम र चरण क्षेत्रको अभावमा भेडाको बथान लिएर नरेश हिमालतिर लागेका हुन् । उनी हरेक बर्ष यसरी नै भेडा लिएर उच्च पहाडी क्षेत्रका जंगलमा पुग्ने गरेका गर्छन् ।


दिनभर भेडा चराउने, विरामी भेडाको उपचार गर्ने, भेडाको दूध दुहूने, सुसेल्दै दिन बिताउने । यत्ति मात्रै गरेर नरेशको दैनिकी कहाँ सकिन्छ ? राति भेडाालाई एकै ठाउँमा भेला गर्ने । त्यही भेडाको दुध तताएर खाने, भेडाकै घ्यु भुटुन हालेर तरकारी पकाउने र खाना खाएर ओढारमुनी सुत्ने ।
भेडाको बथान लिएर सोलु सल्लेरी पाखा पुगेका नरेशले न्युज कारोबारसँग भने, ‘यसरी भेडा पाल्न र चराउन थालेको २० बर्ष भयो । भेडाको बथानमै हुर्किएँ र भेडाहरुसँगै बुढो हँुदैछु ।’ ढुंगामाथि बसेर भेडामा छड्के नजर लगाउँदै नरेशले भने, ‘के गर्नु हजुर हातमा अरु सिप छैन, भेडा छाड्न सकिएन ।’

भेडीगोठ दाई नरेशसँग गरिएको कुराकानी : 

भेडाहरुसँगै जंगलमा बस्न गाह्रो हुँदैन ?
गाह्रो त हुन्छ नि ! तर गाह्रो भए पनि आफ्नो काम त गर्नु परिहाल्छ । पानी पर्छ, ओढारमुनिको बास सुरक्षा हुँदैन । कहिले काहीँ त रातभर भिजिन्छ ।

 

भेडाबाट केके पाउनुहुन्छ ?
भेडाबाट ऊन कात्न पाइन्छ, हामी बेच्छौँ, पाठापाठीहरु जन्मिन्छन्, ठूलो भएपछि बेच्छौँ । आम्दानीको बाटो नै त्यही हो । कसैले त भेडाको घ्यु पनि किन्छन् । तर, पहिलेको जस्तो भेडा पनि छैनन्, व्यापार छैन । मान्छेहरु सुविधा खोज्दै शहर पसे, भेडा पाल्ने मान्छे नै पाउन छाडिसक्यो ।

मान्छेहरुले किन भेडा पाल्न छोडेको होला ?
के गर्नु हजुर दुःख छ, अहिलेका मान्छे सुख खोज्छन् । भेडीगोठलाई सबैले चेपुवामा पार्दै लगे । जंगल जति सबै सामुदायिक बन बनाइदिए । सामुदायिक बनमा चराउन नपाइने रे । हामीले कहाँ लगेर चराउने भेडाको बथान ? भएका जंगल पनि फडानी भए । कतै सडक खनेर जंगल सखाप बनाए । यत्रो बथानलाई बाँधेर पाल्न सकिँदैन । अब कसरी भेडा पाल्नु ?


भेडाको ऊनले बजार पाइरहेको छ त ?
कुनै समय थियो न्यानो कपडाका लागि ऊन (भेडाको रौँ) मात्रै प्रयोग हुन्थ्यो । ऊनका लागि भए पनि मानिसले भेडा पाल्थे । तर अहिले बजारमा थरिथरिका ऊनका कपडा पाउन थालेपछि मानिसले भेडा पाल्न छाडिसकेका छन् । सबैले हेर्दा राम्रो सामान नै रोज्छन्, बलियो असली सामान खोज्दैनन् ।

तपाई त भेडासँगै जीवन बिताइरहनुभएको छ, हाम्रो समाजमा भेडा र मानिसलाई कसरी बुझ्नुहुन्छ ?
हेर्नुहोस, मलाई लाग्छ, यो देशको जनताभन्दा भेडा नै ठीक । मालिकले भनेको मान्छ । आफ्नो बाटोमा हिँड्छ । यहाँको मान्छे त बुझ्नै सक्दिन । एउटाले अर्काेलाई कसरी हुन्छ सिध्याउने, खुट्टा तान्ने, आफैँले आफूलाई राजा ठान्ने, हाम्रो भेडा त ज्ञानी हुन्छ ।

प्रकाशित समय १०:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु