गृहपृष्ठ नेकपाले छान्यो प्रदेश ५ को नेतृत्व, सबै जिल्लाले पाए अध्यक्ष
नेकपाले छान्यो प्रदेश ५ को नेतृत्व, सबै जिल्लाले पाए अध्यक्ष

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश पाँचका सबै जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । नेकपाले पूर्वएमाले र पूर्वमाओवादीलाई समेटेर दाङसहित दाङ, प्यूठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी, पाल्पा, बर्दिया, बाँके, पूर्वी रुकुम, रोल्पा र नवलपरासीको नेतृत्व टुंगो लगाएको हो ।
नेतृत्व चयनका लागि नेकपाले गठन गरेको कार्यदलले सर्वसम्मत रुपमा नेतृत्व टुंगो लगाएको नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए । उनका अनुसार कार्यदलले पूर्वएमाले र माओवादी केन्द्रका बीचमा जिल्ला भागवण्डा गरेर नेतृत्व टुङ्गो लगाइएको छ ।
जसअनुसार सातमध्ये सात जिल्लामा पूर्वएमालेले नेतृत्व गर्नेछ भने पाँच जिल्लामा पूर्वमाओवादीको नेतृत्व रहनेछ । चौधरीका अनुसार पूर्वएमालेले दाङ, प्यूठान, कपिलवस्तु, अर्घाखाँची, रूपन्देही, गुल्मी र पाल्पा जिल्लाको नेतृत्व गर्ने भएको छ । यस्तै पूर्वमाओवादी केन्द्रले बर्दिया, बाँके, पूर्वी रुकुम, रोल्पा र नवलपरासीको नेतृत्व गर्नेछ ।
केन्द्रीय सदस्य चौधरीका अनुसार दाङमा पूर्व एमालेबाट शिव आचार्य, प्यूठानमा तुलसीराम शर्मा, कपिलवस्तुमा छविलाल पोख्रेल, अर्घाखाँचीमा पीताम्बर आचार्य, रूपन्देहीमा गोपाल भट्टराई, गुल्मीमा बाला काउत्छा, पाल्पामा राधाकृष्ण कँडेलले नेतृत्व गर्नेछन् । त्यस्तै बर्दियामा भुवन थारू, बाँकेमा अक्कलबहादुर बम, पूर्वी रुकुममा होमप्रकाश श्रेष्ठ, रोल्पामा सुरेन्द्र घर्ती र नवलपरासीमा घनश्याम यादवले नेतृत्व गर्नेछन् ।
पूर्वएमालेले नेतृत्व गरेका जिल्लामा सचिव पूर्वमाओवादीको रहने तथा पूर्वमाओवादीले नेतृत्व गरेका जिल्लामा सचिवको नेतृत्व पूर्वएमालेले गर्ने सहमति छ । कार्यदलले जिल्ला नेतृत्वको सर्वसम्मत टुङ्गो लगाएर केन्द्रीय कमिटिलाई सिफारिस गरिसकेको छ ।
त्यसैगरी कार्यदलले प्रदेश ५ कमिटीको अध्यक्षमा दुईजना नेताको नाम सिफारिस गरेको छ । कार्यदलले पूर्वएमालेका नेता दलबहादुर राना मगर र पूर्वमाओवादीबाट नेता गणेशमान पुनमगरको नाम सिफारिस गरेको छ । प्रदेश अध्यक्षमा सिफारिस भएका दलबहादुर रानामगर पाल्पा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा तत्कालीन एमालेका प्रदेश ५ सहसंयोजक हुन् भने गणेशमान पुन तत्कालीन माओवादी जनमुक्ति सेनाका डिभिजन कमान्डर तथा पूर्वमन्त्री हुन् ।
प्रकाशित समय ०९:३३ बजे