गृहपृष्ठ सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक : मोरङमा गत वर्ष १०९ जनाको मृत्यु
सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक : मोरङमा गत वर्ष १०९ जनाको मृत्यु
मोरङमा सवारी दुर्घटना बढ्दै गएको पाइएको छ । सवारी दुर्घटना बढ्दै जाँदा मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ७ सय ५९ सवारी साधन दुर्घटना भएका छन्, जसमा १०९ जनाले ज्यान गुमाएका छन् ।
प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलका अनुसार गत वर्ष ५५ वटा ट्रक, ५८ बस, ९९ कार/जिप/भ्यान, ४९ ट्र्याक्टर, ३८ ट्याम्पो, २ सय ८१ मोटरसाइकल, शारीरिक शक्तिबाट चल्ने सवारी साधन ७१ र अन्य आठवटा सवारीसाधन दुर्घटना भएका छन् ।
ती सवारीसाधन दुर्घटनाबाट १०९ जनाको मृत्यु भएको छ भने तीन सय १८ गम्भीर घाइते, ५ सय १० जना सामान्य घाइते भएको र तीन चौपायाको मत्यु भएको छ ।
यो तथ्यांक जुन पछिल्लो तीन वर्षको अवधिमा सबैभन्दा बढी हो । यसअघि, आर्थिक वर्ष २०७३/०७४ मा ६ सय ६७ सवारी साधन दुर्घटना भएकोमा १०४ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख पोखरेलले जानकारी दिए । आर्थिक वर्ष २०७२/०७३ मा ६ सय ७० सवारी साधन दुर्घटनामा ९९ जनाको मृत्यु भएको थियो ।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि दिनहुँ विभिन्न सचेतनामूलक कार्यक्रम तथा आवश्यक कारबाही गरेको जनाए पनि दुर्घटना भने बढ्दै गएको छ । प्रमुख प्रहरी निरीक्षक पोखरेल विराटनगरलगायत विभिन्न स्थानमा सडक निर्माणधीन रहेकोले दुर्घटना बढेको बताउँछन् । ‘अयोग्य सवारी चालक, बाटो काट्ने तरिका नजान्नु, ट्राफिक चेतनाको कमी, अव्यवस्थित पार्किङलगायतका कारणले सडक दुर्घटना बढेको हो,’ उनले भने, ‘यद्यपि ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि थुप्रै काम गरेको छ, आशा गरौं आगामी दिनमा दुर्घटनामा कमी आउनेछ ।’
प्रकाशित समय १८:४० बजे

















