गृहपृष्ठ सुर्खेतमा १५ ग्राम ब्राउन सुगरसहित पाँचजना पक्राउ
सुर्खेतमा १५ ग्राम ब्राउन सुगरसहित पाँचजना पक्राउ
पन्ध्र ग्राम ब्राउन सुगरसहित सुर्खेतमा पाँचजना पक्राउ परेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट गएको विशेष टोली र सुब्बाकुना प्रहरी चौकीको सहायतामा नेपालगन्जबाट सुर्खेततर्फ ल्याउँदै गरेको १५.६ ग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगर ओसारपसारमा संलग्न पाँच जनालाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । भे. ४ प ३४२१ नम्बरको मोटरसाइकलको लुकिङ ग्लासमा लुकाएर व्यापारिक प्रयोजनका लागि ल्याउँदै गर्दा वीरेन्द्रनगर–३, तातापानी बस्ने २९ वर्षीय रमेशकुमार मल्लको साथबाट २.७८ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको हो ।
त्यस्तै, प्रहरीले मंगलबार नै भे. ८ प ३७०६ नम्बरको मोटरसाइकलमा सवार वीरेन्द्रनगर–३ बस्ने २४ वर्षका समीर थापा र सोही स्थान बस्ने २३ वर्षका यज्ञ सुनारबाट समेत ३.१३ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
त्यस्तै मंगलाबर नै भे. ३ प ४२९४ नम्बरको मोटरसाइकलमा सवार वीरेन्द्रनगर–४ का २३ वर्षीय सन्तोष बस्याल र वीेरेन्द्रनगर–१ बस्ने २८ वर्षीय डम्बरबहादुर भण्डारीबाट समेत जिल्ला प्रहरी सुर्खेतले ९.६९ ग्राम ब्राउन सुगर बरामद गरी सार्वजनिक गरेको छ । यो परिणामको लागुऔषध करिब ३ लाख रुपैयाँबराबर रकमको भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ । गत वर्ष ४३ ग्राम ब्राउन सुगर बरामद गरिए पनि हिजोमात्रै एकैदिनमा करिब १५ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।
सुर्खेत जिल्ला लागुऔषधको हब बन्दै गएको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध नियन्त्रणको अभियान नै सुरु गरेको छ । यति ठूलो परिणाममा भेटिएको लागुऔषध प्रयोगका लागि नभई व्यापारिक प्रयोजनका लागि ल्याइएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरेले बताएका छन् ।
प्रकाशित समय २१:५७ बजे