गृहपृष्ठ बिमस्टेक सम्मेलन : जलवायु परिवर्तनविरुद्ध लड्न साझा संकल्प
बिमस्टेक सम्मेलन : जलवायु परिवर्तनविरुद्ध लड्न साझा संकल्प
भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुकले जलवायु परिवर्तनले पारेको प्रभावविरुद्ध लड्न एकीकृत प्रयास जरुरी रहेको बताएका छन् ।
बिम्स्टेकको चौथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन यस क्षेत्रको साझा समस्या भएकाले यसको समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक विपद्जस्ता समस्याबाट यस क्षेत्रका नागरिकलाई जोगाउनका लागि पनि समान लक्ष्यका साथ प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।
वातावरण संरक्षणमा आफ्नो देशले प्रमुख ध्यान दिएको र ५१ प्रतिशत भन्दा बढी क्षेत्रमा वन क्षेत्र कायम गरेको जानकारी दिँदै वाङ्चुकले विपद्बाट जोगिन पनि सार्थक प्रयास गरेको दावी गरे ।
क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि साझा प्रयत्न जरुरी रहेको उल्लेख गर्दै वाङ्चुकले भने, ‘एकल प्रयासबाट मात्रै साझा लक्ष्य हासिल गर्न मुस्किल छ । बिमस्टेक सदस्य राष्ट्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको समाधान हुन सक्छ ।’
उनले सम्पर्क सञ्जालको विस्तार गरेर जनस्तरको सम्बन्धलाई थप उचाइमा उठाउनुपर्नेमा जोड दिए । सूचना प्रविधि, यातायात सञ्जाललगायतको विकास र विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले सरकार–सरकारका बीचमा मात्रै नभई जनस्तरमा समेत सम्बन्ध विस्तार गर्न आवश्यक पहलकदमी जरुरी रहेको बताए ।
शान्ति र स्थायित्वका लागि आतङ्कवादको नियन्त्रण जरुरी छ भन्दै वाङ्चुकले त्यसका लागि पनि सामूहिक प्रयासको आवश्यकता औंल्याए । बिमस्टेक क्षेत्रको व्यापार प्रवद्र्धनका लागि स्वतन्त्र व्यापार क्षेत्र बनाउनु आवश्यक रहको बताउँदै गरीबीविरुद्ध लड्ने साझा संकल्पसमेत जरुरी रहेको बताए ।
प्रकाशित समय १८:१६ बजे