गृहपृष्ठ मन्त्री नै भन्छन्, ‘पोखराका अस्पताल छाडा भए’
मन्त्री नै भन्छन्, ‘पोखराका अस्पताल छाडा भए’
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखराका अस्पतालहरुले साँझमा सेवा नदिएको बताएका छन । ट्रेकिङ ईक्यूपमेन्ट सप एशोसियसन (टेसा) पोखराको १२ औँ अधिवेशन एवं २१ औं बार्षिक साधारणसभाको बिहीबार पोखरामा उद्घाटन गर्दै मन्त्री लम्सालले पोखराका अस्पतालहरुले साँझमा जनतालाई आवश्यक सेवा दिन नसकेको बताएका हुन ।
उनले भने ‘हामी संघीयतामा गएपछि हामीले सबै सेवा यस क्षेत्रबाटै पाउनुपर्छ भन्ने हो तर पोखरा क्षेत्रका अस्पतालहरुले साँझमा आवश्यक सेवा दिन सक्दैनन, यसमा जनता पनि मौन छन ।’ मन्त्री लम्सालले हस्पिटलहरु कमाउ धन्दामा मात्रै केन्द्रित भएको आरोप पनि लगाए । ‘हामी यति बेला कानुन बनाउने र यहाँको वस्तुस्थिति बुझ्दै छौं,’ उनले भने, ‘अबको केही समयपछि हामी कुनै पनि संस्था जुन उद्देश्यले स्थापना भएको छ, सोही अनुरुप काम नगरेको पाइए कार्बाही गर्न बाध्य हुनेछौँ ।’
आफ्नो मन्त्रालयमा ३ अर्ब १० करोडको बजेट भएको उल्लेख गर्दै मन्त्री लम्सालले पर्यटन प्रबद्र्धन गर्न स्पष्ट नीतिसहित निजी क्षेत्रले सहकार्य गर्न आए उक्त बजेट पर्यटन प्रबद्र्धनमा खर्च गरिने बताए ।
गण्डकी प्रदशेका सांसद विन्दुकुमार थापाले पोखरा महानगरपालिकाले जनताको ढाँड सेक्ने गरी एकिकृत सम्पत्ती करको दर बृद्धि गरेर आरोप लगाए । मालपोत कार्यालयले घर जग्गाको मूल्याङ्कन बृद्धि गर्दैमा महानगरपालिकाले त्यसको आधारमा करमा बृद्धि गर्न नहुने उनको भनाइ थियो । नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणि लामिछानेले पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रबद्र्धन गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पदमार्गको खोजी गर्नुपर्नेमा जोड दिए । केही व्यवसायीले अझै पनि कर छली गर्ने गरेको उनले आरोप पनि लगाए ।
टेसा पोखराका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल पर्यटन वोर्डका पूर्वसदस्य गणेश भट्टराई, पोखरा उद्योग वाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्की, टेसाका उपाध्यक्ष नारायण सापकोटा, सचिव प्रमोद भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
प्रकाशित समय १८:०१ बजे