गृहपृष्ठ खानेपानी मन्त्रालयका कर्मचारीलाई विदेश भ्रमणमा रोक
खानेपानी मन्त्रालयका कर्मचारीलाई विदेश भ्रमणमा रोक
खानेपानी मन्त्री बिना मगरले खानेपानी मन्त्रालय र मातहतका निकायका कर्मचारीहरुलाई विदेश भ्रमण जानमा रोक लगाएकी छन् ।
खानेपानी मन्त्रालय सिंहदरबारमा मंगलबार आकस्मिक बैठक बोलाउँदै मन्त्री मगरले कर्मचारीलाई अनावश्यक विदेश भ्रमणमा नजान निर्देशन दिएकी हुन् ।
सचिव, सहसचिव र मातहतका विभिन्न निकायका विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाई विदेश भ्रमण रोक्न निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ ।
देशभर ढलको अनुगमन
यसैबीच, खानेपानी मन्त्रालयले देशभर ढलको अनुगमन गर्ने भएको छ । मन्त्रालयको मंगलबारको बैठकमा मन्त्री मगरले ढलको समस्या बढ्दै गएकाले व्यावसायिक अपार्टमेन्ट, अस्पताल लगायत विभिन्न क्षेत्रका ढलहरुको अनुगमन गर्ने बताइन । प्रारम्भिक प्रशोधन गरेर मात्र ढल फाल्नु पर्ने नीतिगत व्यवस्था गर्न लागिएको उनको भनाई थियो ।
ढल अनुगमन गर्न खानेपानी तथा ढल निकास विभागकी उपमहानिर्देशक मीना श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय अनुगमन तथा निरीक्षण व्यवस्थापन कार्यदल गठन भएको छ ।
प्रकाशित समय १९:३३ बजे