गृहपृष्ठ फोहोर गर्नेलाई कर बढाइदिनुपर्छ : लालबाबु पण्डित

फोहोर गर्नेलाई कर बढाइदिनुपर्छ : लालबाबु पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताएका छन् । भक्तपुर भएर बग्ने हनुमन्ते खोला सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा उनले फोहोर गर्नेमाथि कर लगाउनुपर्ने बताएका हुन् ।

स्थानीय सरकारले करको दायरा घटाउनुपर्ने बताउँदै उनले नेपाललाई सफा र सुन्दर बनाउने कार्यमा अवरोध पुर्याउँदै प्रदूषण तथा फोहर गर्नेलाई जतिसक्दो बढी कर लगाउन सुझाव दिए ।

नेपाल सुन्दर, स्वस्थ र हराभरा बनाउनुपर्छ, भन्ने सन्देश विश्वमा फैलाउनुपर्ने औल्याउँदै उनले भने, ‘हरेक कोणबाट नेपाल बस्नका लागि उपयुक्त छ, भन्ने सन्देश प्रवाह गर्न व्यवहार मै देशलाई स्वच्छ बनाउनुपर्छ ।’

कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले देशमा सरकारलाई फुटाउने र फेरि अस्थिरता ल्याउन विदेशी तत्व सक्रिय भएको बताए । पत्रकारले जथाभावी लेख्न पाउनुपर्छ, डाक्टरले जथाभावी उपचार गर्न पाउनुपर्छ, चालकले जथाभावी मान्छे मार्न पाउनुपर्छ भनेर आन्दोलन भइरहेको भन्दै सरकारलाई कमजोर बनाउने खेल भइरहेको टिप्पणी गरे ।

कार्यक्रममा प्रदेश नं ३ का प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, कलाकार शिव श्रेष्ठ, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत लगायतले नदी सफाइ अभियानमा सबै जुट्नुपर्नेमा जोड दिए ।

विसं २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानको ३० आँै हप्तामा शनिबार दुई टन फोहर संकलन भएको र हालसम्म ३०९ टन फोहर संकलन गरिएको अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए । रासस

प्रकाशित समय १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु