गृहपृष्ठ सुर्खेतमा सवारी दुर्घटनामा गत वर्ष ३५ जनाको मृत्यु
सुर्खेतमा सवारी दुर्घटनामा गत वर्ष ३५ जनाको मृत्यु
सुर्खेतमा सवारी दुर्घटनामा गत वर्ष ३५ जनाले ज्यान गुमाएका छन् । गत वर्ष भएका ४१ वटा सवारी दुर्घटनामा ३५ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सवारी दुर्घटनामा मासिक औसत तीन जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । त्यस्तै, प्रत्येक महिना औसत चारवटा सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरि बिसीका अनुसार अधिकांश सवारी दुर्घटना मानवीय लापर्बाहीका कारण हुने गरेका छन् । ‘चालक होउन् या यात्रु आफ्नो दायित्व पूरा गर्न नसकेका कारण अधिकांश सवारी दुर्घटना हुने गरेका छन्,’ उनले भने ।
सुर्खेत जिल्लालाई सुरक्षित बनाउनका लागि ‘सुरक्षित सहर, हामी सबैको रहर’ अभियानकै रुपमा सञ्चालन गरेको प्रमुख बिसीले बताए । ‘हामीले सुर्खेतका ६१ वटा विद्यालयमा सवारी दुर्घटना सचेतना कार्यक्रम गर्ने योजना बनाएका छौैं । सडक जाँचलाई समेत कडाइ गरेका छौं,’ उनले भने । चालक, सहचालक तथा व्यवसायीलाई हप्ता–हप्तामा कार्यकक्षमै बोलाएर ट्राफिक सचेतनासमेत दिने गरेको प्रमुख बिसीले जनाकारी दिए ।
सवारी चालक हरिप्रसाद न्यौपाने भने दुर्घटनाका कारण व्यक्ति नभई बाटो र ट्राफिक संकेतहरु भएको बताउँछन् । ‘सधैं चालकलाई मात्रै दोष दिनुभन्दा बाटो सफा र खाल्डाखुल्डीरहित र ट्राफिक चिह्न स्पष्ट र आवश्यक ठाउँमा राख्ने हो भने सवारी दुर्घटना कम हुन्छ,’ उनी भन्छन् ।
प्रकाशित समय १६:४५ बजे

















