गृहपृष्ठ न्युयोर्कमा ओलीले कस-कसलाई भेट्दैछन् ?
न्युयोर्कमा ओलीले कस-कसलाई भेट्दैछन् ?
राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युर्योक पुगेका प्रधानमन्त्री केपी ओली विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् । सोमबार क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोसँग भेटगरी एक समझदारीपत्रमा हस्ताक्षर गरेका ओली विभिन्न देशका प्रमुख तथा उच्चस्तरका व्यक्तिसँग भेटघाट तथा छलफलमा छन् ।
सोमबार साँझ नै प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसँगै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको रात्रिभोजमा सहभागी भएका थिए । त्यसअघि आइतबार प्रधानमन्त्री ओलीले नेल्सन मण्डेलाको जन्म शताब्दी मनाउन आयोजित ‘नेल्सन मण्डेला शान्ति शिखर बैठक’लाई सम्बोधन गरेका थिए ।
झण्डै दुई साता लामो विदेश यात्रामा गत शनिबार अमेरिका गएका हुन् । संयुक्त राष्ट्रसंघको ७३ औं सभामा सहभागी हुन प्रधानमन्त्री न्युयोर्क गएका हुन् । संयुक्त राष्ट्रसंघको उच्चस्तरीय महासभा मंगलबारबाट सुरु हुँदै छ । ‘शान्तिपूर्ण, इमानदार र निरन्तर समाजका लागि विश्वव्यापी नेतृत्व र साझा जिम्मेवारीहरु सम्बद्ध संयुक्त राष्ट्रसंघ बनाउँ’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार महासभालाई सम्बोधन गर्नेछन् । यस्तै, सोही दिन प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजबीच द्वीपक्षीय वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गरेकै दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क क्षेत्रका विदेश मन्त्रीहरुसँग न्युयोर्कमै अनौपचारिक छलफल गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले स्वीट्जरल्यान्डका राष्ट्रपति एलिन ब्रिसेटसँग बुधबार भेट गर्दैछन् । कम्बोडियाका प्रधानमन्त्री समेच उर्फ मोह सेना पाडी तेच हान सेनसँग शुक्रबार अनौपचारिक भेट गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रसंघका अलावा ओलीले उत्तर अमेरिकी देश कोस्टारिकाको पनि भ्रमण गर्ने छन् ।
प्रकाशित समय १७:३० बजे

















