गृहपृष्ठ तीन दिनभित्र प्रदेश १ को नाम र स्थायी राजधानी टुंग्याइने
तीन दिनभित्र प्रदेश १ को नाम र स्थायी राजधानी टुंग्याइने
प्रदेश १ ले तीन दिनभित्र आफ्नो नाम र स्थायी राजधानी पाउने भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा काुननमन्त्री हिक्मत कार्कीले आगामी शुक्रबारभित्र नाम र राजधानीको विषय टुंगिने बताएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसदीय दलको बैठकमार्फत प्रदेशको नाम र राजधानी टंग्याएलगत्तै प्रदेशसभामा प्रस्ताव पेश गर्ने उनले जनाए । ‘मलाई लाग्छ, शुक्रबारभित्र नाम र राजधानी टुंगिने छ,’ मंगलबार पत्रकारहरुसँग मन्त्री कार्कीले भने, ‘यही अधिवेशनले यो प्रदेशको नाम र स्थायी राजधानीको घोषणा गर्ने छ ।’
संसदीय दलको बैठकमा सोमबार र मंगलबार गरेर २० सांसदले धारणा राखेका मन्त्री कार्कीले जानकारी दिए । प्रदेश नं १ मा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका ६७ जना प्रदेशसभा सदस्य छन् । यो संख्या प्रदेशसभाको दुई तिहाइ हो ।
प्रदेशसभामा रहेको दुई तिहाइ मतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने संवैधानिक प्रावधान छ । नेकपाको संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीको विषयमा गर्ने निर्णय नै अन्तिम हुने छ ।
प्रदेशको अस्थायी राजधानी रहेको विराटनगर नै स्थायी राजधानी बन्नेमा अधिकांश विराटनगरवासी र सांसद ढुक्क देखिएका छन् । तर, राजधानी विकेन्द्रिकृत गर्ने मुख्यमन्त्री शेरधन राईको प्रस्ताव र इटहरी आसपास स्थायी राजधानी तोक्न माग गरिरहेका पहाडी जिल्लाका सांसदहरुको मागले खासगरी राजधानीको विषयले माहोल तताएको छ ।
प्रकाशित समय १८:३० बजे

















