गृहपृष्ठ चाडपर्व नजिकिँदा समेत सहुलियतको चामल पुगेन

चाडपर्व नजिकिँदा समेत सहुलियतको चामल पुगेन

फाइल तस्बिर

दसैं नजिकिँदै गर्दा गोरखाको विकट उत्तरी क्षेत्रका लागि सरकारले सहुलियतमा दिने गरेको चामल अझैसम्म पुग्न सकेको छैन ।

उत्तरी क्षेत्रका साविकका १३ गाविसका स्थानीयवासीलाई सहुलियत दरमा बिक्री गर्न लैजानुपर्नेमा आर्थिक वर्ष सुरु भएको साढे ३ महिना बितिसक्दा पनि चामल ढुवानी हुन नभएको हो । नेपाल खाद्य संस्थान गोरखाले चामल ढुवानी गर्न असारमै टेण्डर आह्वान गरेको भए पनि टेण्डर प्रक्रिया पूरा नहुँदा चामल ढुवानी हुननसकेको संस्थानका डिपो प्रमुख शिवराज घिमिरले बताए ।

संस्थानले माछाखोला डिपोका लागि ठेक्का प्रक्रिया पूरा गरेको भए पनि त्यहाँ समेत अझै सम्झौता हुन बाँकी छ । समयमा सम्झौता हुन नसक्दा माछाखोला डिपोमा पनि दशैँअघि चामल नपु्रग्ने भएको छ । माछाखोला डिपोमा चालु आर्थिक वर्षका लागि मात्र २५ सय क्विन्टल चामल ढुवानी गर्नुपर्नेछ ।

गोरखा सदरमुकामदेखि आरुघाटको सोतीबजारसम्म यातायात साधन प्रयोग गरी चामल ढुवानी हुने भए पनि सोती बजारदेखि माथि खच्चडलाई बोकाएर लैजानुपर्ने बाध्यता छ । खाद्य संस्थान गोरखाले माछाखोला डिपोबाट वितरण गर्ने अनुदानको चामल जिल्लाको साविकका केरौजा, उहिया, काशीगाउँ, लापु, गुम्दा र लाप्राकका साविक गाविसका बासिन्दालाई वितरण गर्दै आएको छ ।

त्यस्तै सिर्दिवास डिपोबाट वितरण गरिने चामल सिर्दिवास, ल्हो, प्रोक, छेकम्पार, चुम्चेत, सामागाउँका बासिन्दालाई वितरण गरिदै आएको छ ।

संस्थानको सिर्दिवास डिपोमा १०३ क्विन्टल र माछाखोला डिपोमा ७९० क्विन्टल चामल मौज्जाद रहेको डिपो प्रमुख घिमिरेले जानकारी दिए । (रासस)

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु