गृहपृष्ठ डोल्पा-जाजरकोट सडक ट्रयाक खुल्यो, पुल नबन्दा यात्रा उस्तै कठिन

डोल्पा-जाजरकोट सडक ट्रयाक खुल्यो, पुल नबन्दा यात्रा उस्तै कठिन

डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडियो

dolpa-jajarkot-sadak-khanda

जाजरकोट-डोल्पा सडकखण्डको त्रिपुराकोट नगरपालिका-९, धाउनीको अन्तिममा भीर काटेपछि दुनैसम्म सडकको ट्रयाक खुला भएको छ । धाउनी-फूलपानी सडकखण्डको निर्माण कार्य सम्पन्न भएको हो ।

तरपरे भीर खण्डको ट्रयाक खोलेर ढुवानीको साधन ट्याक्टर सञ्चालनमा आएपछि धाउने र फूलपानीका बासिन्दाले पूजाआजा गरेर सडकमै नाँचगान गरी हर्ष मनाएका छन् । सडक नपुग्दा यातायातका साधन नचलेपछि पीडा तथा अभावमा पिल्सिएर बसेका डोल्पालीको वर्षौंदेखिको सडक सपना पूरा भएको छ ।

निर्माणाधीन सडक जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ मा पर्ने अन्तिम कडा चट्टानको रूपमा रहेको ५०० मिटरको तरपरे भीर खण्डको ट्रयाक खोल्ने काम सम्पन्न गरेसँगै डोल्पालीको वर्षौदेखिको सडकको सपना पूरा भएको हो ।

तरपरे भीरको ट्रयाक खोल्ने कार्य सम्पन्न भएसँगै डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । ट्रयाक खोल्ने कार्य सम्पन्न गरेर डोल्पाको खदाङदेखि चुँगाडसम्म सीधा ढुवानी साधनको रूपमा ट्याक्टर सञ्चालनमा ल्याइएको नेपाल सेना निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले बताए । सदरमुकाम दुनै, विमानस्थल जुफाल र त्रिपुराकोटको सुँपानीसम्म यसअघि नै आन्तरिक यातायातको रूपमा हेलिकप्टरबाट ल्याइएका जिप तथा ट्याक्टर सञ्चालनमा आइरहेका थिए ।

त्रिपुरासुन्दरी नगरपालिका-९ मा पर्ने फूलपानी र धाउन्ने बस्तीका बासिन्दाले आफ्नो घरआँगनमा पुगेको ट्याक्टर र जाजरकोट-डोल्पा मोटरबाटो निमार्णमा संलग्न नेपाली सेनालाई फूलमाला पहिर्याएर भव्य स्वागत गरेका छन् । जाजरकोट-डोल्पा नाम दिइएको भेरी करिडोर पहिलो चरणको निर्माण कार्यअन्तर्गत जाजरकोटको पासागाडदेखि डोल्पा दुनैसम्मको ११७.७ किमी सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको नेपाली सेनाको जाजरकोट-डोल्पा मोटरबाटो निर्माण कार्यदलका प्रमुख पहाडीले बताए ।

 

सडक पुगे पनि पुल बाधक

सडकखण्डको निर्माण कार्य पूरा भए पनि पुल अभावमा समस्या हुने देखिएको छ । करिब पाँचभन्दा बढी ठूला र अन्य साना पुल निर्माण नभएसम्म यो सडकखण्डमा स्थानीयवासीले सहजै यात्रा गर्न सक्ने अवस्था छैन ।

जाजरकोटको दल्ली, कालीमाटीबीच नलगाड नदीमा पुल, रुकुमको राडी र जाजरकोटको मन्मै बीचमा रहेको भेरी पुल, जाजरकोट तल्लु र रुकुम छरेवग्रीबीचको भेरी नदीको पुल, डोल्पाको खदाङमा भेरी नदीको पुल र त्रिपुराकोट जुफाल जोड्ने भेरी नदीको पुल निर्माण कार्य सुरु नै भएको छैन । अब माथिल्लो डोल्पाको तेन्जे र मरिम्लाका लागि सडक निर्माण हुने सांसद सत्य पहाडीले बताए । बजेट विनियोजन भइसकेकाले माथिल्लो डोल्पाको काम सुरु हुने उनको भनाइ छ ।

(रासस)

प्रकाशित समय १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु