गृहपृष्ठ बालिका बलात्कारको गलत रिपोर्ट दिने दुई डाक्टर कारबाहीमा
बालिका बलात्कारको गलत रिपोर्ट दिने दुई डाक्टर कारबाहीमा
फाइल तस्बिर
बालिका बलात्कारको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालमा कार्यरत २ जना डाक्टर कारबाहीमा परेका छन । धनुषामा बलात्कारमा परेकी एक १२ वर्षीयो बालिकाको गलत रिपोर्ट दिने डाक्टर कारबाहीमा परेका हुन् ।
गत भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ बस्ने एक बालिका बलात्कृत भएपछि परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको थियो । अस्पतालमा कार्यरत डा. विजयकुमार सिंह र डा. रम्भा गोइतले बलात्कार नभएको रिर्पोट तयार गरेका थिए । तर प्रहरीलाई शंका लागेर पुनः ती बालिकालाई सिरहा अस्पतालमा परीक्षण गराउँदा बलात्कार भएको पुष्टि भएको थियो ।
जनकपुर अञ्चल अस्पतालका दुई डाक्टरले भदौ ९ गते पीडित बालिकाको नमुना परीक्षण गर्दा बलात्कार नभएको प्रतिवेदन दिएका थिए तर सोही बालिकाको भदौ २५ गते सिरहा अस्पतालमा डा. राकेशकुमार सिंहले नमुना परीक्षण गर्दा बलात्कार भएको प्रतिवेदन आएको थियो ।
सो विषयमा अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले दुई डाक्टरलाई चिकित्सकय अभ्यासबाट वञ्चित गराउने निर्णय गरेको हो । जनकपुर अञ्चल अस्पताल र सिरहा अस्पतालमा गराइएको शारीरीक जाँचमा बालिकाको नमुना परीक्षणको फरक फरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा. कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।
नेपाल मेडिकल काउन्सिलले उनीहरुले न्युनतम आचरण तथा व्यवहार विपरित मेडिकल रिपोर्ट दिने जनकपुर अंचल अस्पतालका २ डाक्टरलाई यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय गरेको हो ।
समितिले बयानका लागि बोलाउँदा अटेर गरी बसेको भन्दै जिल्ला अस्पताल सिरहाका चिकित्सक सिंहलाई सात दिनको म्याद दिई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको समितिका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
प्रकाशित समय १३:२२ बजे

















