गृहपृष्ठ आधुनिकता भित्रिँदै दसैंमा : सुनिन छाडे मालश्री धून
आधुनिकता भित्रिँदै दसैंमा : सुनिन छाडे मालश्री धून
मालश्रीको धूनसँगै दसैंमा बिहानै घरमा दुर्गा जगाउँदै गाउँदा दसैं आएको संकेत गर्छ । तर, अचेल भने यस क्षेत्रमा मालश्रीका धून सुनिन छाडेका छन् । केही वर्ष पहिलेसम्म दसैंमा घरघरमा सारङ्गी बाजासहित दुर्गा जगाउन आउने गन्धर्व समुदाय हाल भने देखिन छाडेका छन् ।
पहिले प्रत्येक घरघरमा गन्र्धव समुदायका व्यक्ति दुर्गामा मालश्रीको धूनसँगै गाउन आए पनि अचेल एक दुई स्थानमा मात्र सो धुन बज्ने गरेको छ । ‘पहिलेपहिले बिहानै दुर्गा जगाउन भन्दै गन्धर्व समुदायका व्यक्ति घरघरमा आउने गर्दथे, हाल भने सो धुन लोप हुने अवस्थामा छ,’ दाङ तुलसीपुर–७ का स्थानीय समाजसेवी कृष्णकुमार गिरीले बताए । तुलसीपुर–७ का विमल गौतमले एक जना गन्धर्व भए पनि आफ्नो घरमा आउँदा पुरानै संस्कृतिको जगेर्ना भएकामा खुशी व्यक्त गर्छन् ।
हाल एक÷दुई बाहेक अन्य गन्धर्वले सो पेशा छाडेका छन् । युवा पुस्ताले चासो नदिँदा तथा राज्यले आफूहरुको पेशा संरक्षणका लागि चासो नदिँदा मालश्री तथा अन्य समयमा सारङ्गी बाजा बज्न छोडेको तुलसीपुर–४ निवासी शालिकराम गन्धर्वको भनाइ छ । ‘राज्यले यसतर्फ कुनै चासो दिएन, हाम्रो छोराछोरीले पनि पेशा अँगालेनन्,’ उनले भने ।
कहीँकतै एक÷दुई जना गन्धर्वले पुख्र्यौली पेशा अँगाले पनि नयाँ पुस्ताले निरन्तरता दिन नसकेकोले पेशा संकटमा परेको बताइएको छ । कसैले आग्रह गरेमा केही घरमा आफू दुर्गा गाउन जाने गरेको र एक्लैले नभ्याउने उनको भनाइ छ । ‘हामी जस्तै दुई÷चार जना पुराना व्यक्तिले संस्कृति जर्गेना गर्ने प्रयास गरेका छौं,’ घटस्थापनादेखि दुई÷चार घरमा दुर्गा जगाउँदै आएका छौं,’ प्रेम गन्धर्वले भने ।
दाङको तुलसीपुर–४ मा करीब ६० घर गन्धर्व परिवारको बसोबास भए पनि थोरैले मात्र सारङ्गीवादन जानेका छन् । आफूहरुलाई राज्यले सहयोग नगर्दा सारङ्गी बाजा लोप हुने अवस्थामा पुगेको अर्जुन गन्धर्वले बताए । उनले स्थानीय निकाय तथा सम्बन्धित संस्थाले आफूहरुको पेशा संरक्षण र जीविकोपार्जनका लागि ठोस कार्यक्रम ल्याउनसमेत माग गरे । रासस ।
प्रकाशित समय १६:५६ बजे

















