गृहपृष्ठ बडादसैंले छुँदैन मालढुंगाका माझीलाई

बडादसैंले छुँदैन मालढुंगाका माझीलाई

dashain

नेपालीहरुको महान् पर्व बडादसैंको मुख्य दिन आज विजयादशमी । सहर बजार जताततै बडादसैंले छपक्कै छोपेको छ । दैनिकजसो खसिबोका, च्याङ्ग्रा काट्ने, मीठोमसिनो खाने र शुभकामना आदानप्रदान गर्ने कार्यक्रमले भ्याइनभ्यार्इ छ । तर, पर्वतको माझी बस्तीकी चन्द्रकुमारी माझीलाई भने दसैंले छोएको छैन ।

शुक्रबारको टीकाको दिन तयारी गर्नुपर्ने भए पनि बस्तीभरिका महिला पुरुष कालीगण्डकी किनारमा बालुवा निकाल्न व्यस्त छन् । ‘सधैँ एकनासले दिनभर बालुवा नउठाए भोकै भइन्छ,’ चन्द्रकुमारीले भनिन्, ‘हाम्रा लागि वर्षभरिका सबै दिन उस्तै हुन्, फुर्सद र धन भए पो चाडबाड ।’

पोखरा-बागलुङ राजमार्गअन्तर्गत कुश्मा-१, पाङमा पर्ने कालीगण्डकी किनारमा करिब १ सय ५० परिवारको बस्ती छ । पोखरा-बागलुङ सडक निर्माणका क्रममा २०४८ सालतिर धादिङ, गोरखा र तनहुँलगायतबाट आएका मजदुरहरू यहीँ छाप्रा बनाएर बसेका हुन् । तर, उनीहरूसँग घरबास गरेका ठाउँको न लालपुर्जा छ न त काम नचलेका दिनको गाँसको ठेगान । राजमार्गको काम गर्दै यहाँसम्म आइपुगेपछि स्थायी बसोबास गरेकाहरू सडकको काम सकिएपछि बेरोजगारजस्तै बने ।

नियमित आम्दानीको स्रोत नभएपछि नजिकैको कालीगण्डकी किनारमा बालुवा निकाल्ने र गिट्टी कुटेर जीविका गर्नुको विकल्प नभएको उनीहरू बताउँछन् । यहाँका करिब १५० मध्ये अधिकांश परिवार यही पेसामा छन् । वर्षाका बेला कालीगण्डकीको भेलले बगाउने बालुवा किनारमा थुपारेर हिउँदभर बेच्ने मुख्य पेसा हो ।

त्यसबाहेक गिट्टी कुटेर पनि बिक्री गर्छन् । ‘बर्खामा नदीमा बाढी आउँदा बालुवा निकाल्नै सकिन्नँ,’ स्थानीय कला माझीले भनिन्, ‘धेरै दिन बाढी आए भोकभोकै बस्ने हो ।’ यो बस्तीमा सयजनाको हाराहारीमा महिला छन् । उनीहरूमध्ये ७० भन्दा बढी महिला बिहानैदेखि दिनभर बालुवा निकालेर किनारमा थुपार्छन् । केहीले भने बंगुर र कुखुरा पालेका छन् ।

कुश्मा, बागलुङ र बेनीका निर्माण व्यवसायीले यिनीहरूबाट प्रतिट्रयाक्टर दुई हजार २०० देखि दुई हजार ७०० रुपैयाँमा बालुवा खरिद गर्छन् । व्यवसायीले किनेको बालुवा बजारमा पाँचदेखि ६ हजारमा बिक्री गर्छन् । ‘हाम्रो पसिनामा पनि कमिसन खान्छन्,’ बालुवा निकाल्दै गरेकी प्रमिला गुरुङले भनिन्, ‘ठेकदारले नाफा बढी लिँदा दुःख खेर गएको छ ।’

बालुवा बिक्रीमा व्यवसायीले लगाएको एकाधिकार ‘सिन्डिकेट’कै कारण श्रमिकले सिधै बिक्री गर्न पाउँदैनन् । अधिकांश पुरुष निर्माण मजदुर तथा ट्रयाक्टरमा काम गर्छन् । केही खाडी मुलुकमा वैदेशिक रोजगारीमा छन् । विपन्न र गरिबीका कारण बालबालिकालाई राम्रो शिक्षा दिन सकेका छैनन् ।

२०६३ सालमा निर्मित स्थानीय विद्यालयमा ३ कक्षामाथि पढाइ हुँदैन । मुस्किलले ३ कक्षा पढेपछि उपल्लो कक्षा पढ्न बागलुङ सदरमुकाम पुग्नुपर्छ । त्यहाँसम्म पुग्न एकतर्फी बस भाडा १० रूपैयाँ लाग्छ । दैनिक आउजाउ गर्दा २० रूपैयाँ बसभाडा तिर्ने पैसाकै अभावमा ३ कक्षापछि अधिकांशले छोराछोरी विद्यालय पठाउँदैनन् ।

बस्तीमाथिको ढिस्को खसेर बेलाबेला भएको बास पनि तहसनहस पार्छ । दुई वर्षअघि खसेको पहिरोले यहाँका नौ वटा छाप्रा पुरेको थियो । (लक्ष्मीप्रसाद सापकोटा/रासस)

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु