गृहपृष्ठ दुई नेकपाको विवाद हल गर्न आयोगमा बैठक
दुई नेकपाको विवाद हल गर्न आयोगमा बैठक
दुई नेपाल कम्युनिस्ट पार्टी एकीकरणपछि तय हुने नामका विषयमा अन्तिम निर्णय गर्न निर्वाचन आयोगमा छलफल जारी छ । पार्टी नामको अन्तिम टुंगो लगाउन दुई पक्षलाई आयोगले छलफलमा बोलाएको हो । आयोगको रोहवरमा दुवै पक्षका प्रतिनिधि छलफलमा जुटेको आयोगका प्रवक्ता दीपक सुवेदीले जानकारी दिए ।
गएको जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । एकीकृत पार्टीको नाम नेकपा राखिएपछि नाम दर्ताको विवाद भने अझै टुंगिएको छैन । नेपाल कम्युनिस्ट पार्टी भन्ने नाममा ऋषि कट्टेलले पहिल्यै पार्टी दर्ता गराएका थिए । जेठ ३ पछि पुनः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भन्दै दल दर्ता गर्न आयोगमा निवेदन परेपछि विवाद आएको हो ।
सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ऋषि कट्टेल नेतृत्वको पार्टीसँग नाम जुधाएपछि आयोगमा उजुरी परेको थियो । विवाद समाधानका लागि दुवै दल तथा आयोगका पदाधिकारी छलफलमा छन् । सत्तासीन दल नेकपाबाट मुक्ति प्रधान र बाबुराम दाहाल तथा नेपाल कम्युनिस्ट पार्टीबाट अध्यक्ष कट्टेलसहितका नेता छलफलमा छन् ।
प्रकाशित समय १४:४१ बजे

















