गृहपृष्ठ बुटवलमा पनि नाचियो पहाडको सरायँ नाच
बुटवलमा पनि नाचियो पहाडको सरायँ नाच
पश्चिम नेपालको गुल्मी, अर्घाखाँची जिल्लामा लोकप्रिय रहेको सरायँ नाच रुपन्देहीको बुटवलमा पनि नाचिएको छ । खासगरी, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान र स्याङ्जाबाट बसाइँसराइ गरी आएकाहरुको सहभागितामा बुटवल–१२, देवीनगरमा सरायँ नाच नाचिएको हो ।
नवदुर्गा मन्दिर समितिको अगुवाइमा आयोजना गरिएको सरायँ नाचमा सयौं वृद्धवृद्धा, महिला र युवाको सहभागिता थियो । नवदुर्गा मन्दिर समितिका अध्यक्ष अर्जुन कुँवरले लामो समयदेखि पहाडी जिल्लामा नाच्दै आइएको नाचलाई सहरमा निरन्तरता दिन सरायँ नाच नाचिएको बताए । उनका अनुसार २०६७ सालदेखि निरन्तर रुपमा दसैंको पूर्णिमाको दिन सरायँ नाच नाच्दै आइएको छ । उनी भन्छन्, ‘पहाडमा रहेको संस्कृतिलाई जोगाउन यहाँ हामीले सरायँ नाच प्रदर्शन गरेका हौं ।’
हातमा खुडा, तरबारलगायतका हतियारले सुसज्जित युवा, पाका, महिला तथा वृद्धवृद्धाहरुले वाख्खै, वाख्खैको तालमा सरायँ नाच नाचेका छन् । २०६७ सालदेखि देवीनगरमा पूर्णिमाको दिन सरायँ नाच प्रदर्शन गर्दैै आएका अगुवा कुलबहादुर जिसी गुल्मीको पिपलधाराका स्थानीय अगुवाले त्यहाँ प्रदर्शन गर्दै आएको भगवती मन्दिरबाट खुडा, तरबारलगायतका देवी भगवतीको प्रतिष्ठा ल्याएर यहाँ सरायँको सुरुवात गरिएको हो ।
यस्तै, गुल्मी जन्मघर भई हाल बुटवल बस्दै आएका अगुवा कुलबहादुर केसीका अनुसार सामूहिक एकता र आपसी भाइचारा कायम गर्र्दै संस्कृतिको जगेर्नाका लागि यस्तो प्रकृतिको सरायँ नाच प्रदर्शन गरिएको हो । आठ वर्षदेखि देवीनगरमा निरन्तर पूर्णिमाका दिन सरायँ नाच नाचिँदै आएकोमा यसलाई अझ परिस्कृत र व्यवस्थित गर्दै जान आवश्यक रहेको उनको भनाइ छ ।
प्रकाशित समय २१:३७ बजे

















