गृहपृष्ठ मोटरसाइकल दर्ता अब प्रदेश अनुसार
मोटरसाइकल दर्ता अब प्रदेश अनुसार
रोकिएको दर्ता एक साता भित्र खुल्ने
मोटरसाइकलको दर्ता अब अञ्चल अनुसार नहुने भएको छ । मोटरसाइकलको लट १ सय बाट प्रदेशअनुसार दर्ता गरिने भएको छ । मोटरसाइकलमा अब अञ्चल लेखिएको ठाउँमा प्रदेश कायम गरिनेछ । असोज दोस्रो साताबाट मोटरसाइकल ९९ लट सम्म पुगेपछि दर्ता प्रक्रिया रोकिएको थियो । सवारी व्यवस्था नियमावली २०५४ मा दुई अंक अर्थात ९९ लटसम्म दर्ता गर्न सकिने व्यवस्था गरिएको थियो ।
असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशअनुसार दर्ताको बाटो खुलाएपछि अब दर्ता प्रक्रिया सुरु गरिने यातायात व्यवस्था विभागले जनाएको छ । राजपत्रमा प्रकाशित भएपछि अब दर्ता सुरु गरिने विभागले जनाएको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले न्युज कारोबारसँग भने, ‘अञ्चलको ठाउँमा प्रदेश राखेर दर्ता गर्ने तयारी छ, हप्ता दश दिन भित्रबाट प्रदेश अनुसार दर्ता प्रक्रिया सुरु हुन्छ ।’
अब दर्ता गर्दा पहिले प्रदेशको नाम अथवा कोड, त्यसपछि दर्ता कार्यालयको कोड, अनि नम्बर राखिनेछ । नेपालमा अहिलेसम्म सवारी दर्ता अञ्चलअनुसार हुँदै आएको थियो । बागमतीमा ९९ सय लटसम्म पुग्दा ९ लाख ७० हजार मोटरसाइकल दर्ता भएपछि रोकिएको छ ।
यसअघि बाग्मती अञ्चलमा दैनिक पाँचसय जति मोटरसाइकल दर्ताका लागि आउने गरेको थियो । अहिले असोज १६ गतेबाट ९९ लट सकिएपछि दर्ता रोकिएको छ ।
प्रकाशित समय ११:४२ बजे

















