गृहपृष्ठ निर्मला हत्या प्रकरण : एसपी विष्टसँगै इन्स्पेक्टर भट्ट बर्खास्त
निर्मला हत्या प्रकरण : एसपी विष्टसँगै इन्स्पेक्टर भट्ट बर्खास्त
निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिनमा लापर्बाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्टसँगै इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । गृह मन्त्रालयले बिहीबार विष्ट र भट्टलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने’ गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।
साउन १० गते साथीको घर गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । घटनाको अनुसन्धानमा कञ्चनपुर प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख रहेका इन्स्पेक्टर भट्टले लापर्बाही गरेको भेटिएपछि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा बर्खास्तीका लागि सिफारिस गरेको हो ।
विष्ट भदौ १० र भट्ट ३१ गते निलम्बनमा परेका थिए । सरकारी छानबिन समितिले प्रहरी लापर्बाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो । दुबैले लापर्बाही नभएको दाबी गरेका थिए ।
तर, दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमावलीअनुसार एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्त गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विष्ट र भट्टलार्इ प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ को देहाय (क)को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) १ बमोजिम बर्खास्त गरिएको जनाइएको छ ।


प्रकाशित समय २०:४६ बजे

















