गृहपृष्ठ राष्ट्रपति भण्डारी कतार जाँदै

राष्ट्रपति भण्डारी कतार जाँदै

rastrapati-newskarobar फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको भ्रमण गर्ने भएकी छन् । चारदिने राजकीय भ्रमणका लागि सोमबार उनी कतार जानेछिन् ।

कतारले राष्ट्रपति भण्डारीलाई पहिलो कार्यकालमै निम्तो दिए पनि यूएई भ्रमणको एक वर्षपछि दोस्रो कार्यकालमा बल्ल कतार भ्रमण गर्न लागेकी हुन् । गणतन्त्र स्थापनापछि कतारमा हुन लागेको यो दोस्रो उच्चस्तरीय भ्रमण हो । यसअघि पहिलोपटक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कतार भ्रमण गरेका थिए ।

कतारका राष्ट्रपति आमिर शेख तमिम विन हमाद अलथानीको निमन्त्रणमा राष्ट्रपति १२ कात्तिकमा कतार जानेछिन् । त्यहाँ रहँदा उनले आमिर शेख अलथानीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । १३ कात्तिकमा उनले आमिर अलथानीसँग भेटवार्ता गर्नेछिन् ।

द्विपक्षीय भेटवार्तापछि राष्ट्रपति भण्डारीको सम्मानमा आमिर शेखले दिवाभोज आयोजना गर्नेछन् । त्यस्तै, कतार बसाइका क्रममा राष्ट्रपति भण्डारीसँग कतार फाउन्डेसनकी अध्यक्ष एवं संस्थापक सेख मोजा विन्ट नासेरसहितका उच्च अधिकारीहरुले भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले कतारका व्यावसायिक समुदायले आयोजना गर्ने ‘नेपालमा व्यवसाय तथा लगानीको अवसर’ विषयक संयुक्त अन्तक्र्रिया कार्यक्रमलाई मंगलबार नै सम्बोधन गर्ने कार्यक्रम छ । साथै, भ्रमणको पहिलो दिन सोमबार उनले कतारस्थित नेपाली दूतावासको भ्रमण गर्नेछिन् ।

उनको सम्मानमा कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले रात्रिभोज आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको भ्रमण दलमा उद्योगी तथा व्यावसायिक प्रतिनिधिसमेत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी चार दिने भ्रमण सकेर कात्तिक १५ गते स्वदेश फर्किने छिन् ।

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु