गृहपृष्ठ आफूखुसी विदेश जाने कर्मचारीलाई कारबाही गर्ने सरकारको तयारी
आफूखुसी विदेश जाने कर्मचारीलाई कारबाही गर्ने सरकारको तयारी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै निकायसँग विदेश भ्रमण गएका कर्मचारीको विवरण माग गरेको छ । जथाभावी विदेश भ्रमण नगर्न उर्दी जारी गरेको प्रधानमन्त्री कार्यालयले विदेश भ्रमण गर्नेको विबरण माग गरेको हो । निर्देशनमा वैदेशिक भ्रमणमा जाने सबै कर्मचारीको विवरण पेस गर्न भनिएको छ ।
जथाभावी वैदेशिक भ्रमणमा जाने प्रवृत्तिले अभिलेखसमेत नरहने र राज्यको बजेट अनावश्यक ठाउँमा खर्च हुने भएकाले व्यवस्थित गर्न अत्यावश्यक रहेको ठहर गर्दै विवरण माग गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्ष २०७५÷७६ को पहिलो दुई महिना साउन र भदौमा विदेश भ्रमणमा गएका कर्मचारीको विवरण माग गरिएको हो । अधिकांश विवरण प्राप्त भइसकेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताए । उनले भने, ‘निर्देशनअनुसार मन्त्रालय, विभाग तथा कार्यालयबाट विवरण आउने क्रम जारी छ ।’
वैदेशिक भ्रमण व्यवस्थित गर्न गत वैशाखमा सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका जारी गरेको थियो । निर्देशिकाविपरीत जानेलाई कारबाही हुने प्रवक्ता कुँवरले बताए । त्यसअघि फागुनमा केपी शर्मा ओली प्रधानमन्त्री भएलगतै जथाभावी विदेश भ्रमण नगर्न निर्देशन दिएका थिए । तर पनि सरकारी खर्चमा जथाभावी वैदेशिक भ्रमणमा जाने क्रम रोकिएको छैन ।
प्रकाशित समय १७:५८ बजे

















