गृहपृष्ठ काठमाडौंकै सडकको खाल्डामा खसेर एकजनाको ज्यान गयो

काठमाडौंकै सडकको खाल्डामा खसेर एकजनाको ज्यान गयो

dharap-sadak-newskarobar

काठमाडौंको सडककै खाल्डोमा खसेर एकजनाको ज्यान गएको छ । काठमाडौं सडकका खाल्डो नछोपिएको र ढल नपुरिएको भन्दै गुनासो आइरहँदा साइकल यात्रीको ज्यान गएको हो ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१५, चागल निवासी ३८ वर्षीय श्यामसुन्दर श्रेष्ठ रहेका छन् । माउन्टेन बाइक यात्री श्रेष्ठको बल्खुबाट दक्षिणकाली जाने सडक छेउको ढलमा खसेर ज्यान गएको हो । महानगरिय प्रहरी वृत्त कीर्तिपुरले ढल नपुरिएकाले त्यहाबाट खसेर श्रेष्ठको ज्यान गएको बताएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले छोप्नुपर्ने मंगाल (ढलको पानी छानेर निकास गरिने खाल्डो) छोप्ने स्ल्याब सडकमै छ ।

 

ज्यान गएपछि जनप्रतिनिधिको चासो
मानवीय क्षति भएपछि मात्रै नगरपालिकाको ध्यानाकर्षण भएको छ । स्थानीयबासीले पटक–पटक ढल छोप्न आग्रह गर्दासमेत काम भएन । नगरपालिका र केयूकेएलले लापर्बाही गर्दा मानिसको ज्यान गएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

ढल नछोपेकाले दुर्घटना भएको कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्काले स्वीकारेकी छन् । ‘दुर्घटना भएको खाल्डो तत्काल पुर्न भनेका छौं, आजैबाट काम सुरु गर्न निर्देशन दिएपछि काम थालिएको छ,’ खड्काले न्युज कारोबारसँग भनिन् । कीर्तिपुर नगरपालिका–१० मा पर्ने उक्त क्षेत्रमा अगाडि पनि यस्तै खुला ढल छ । सो खाल्डोसमेत पुर्न निर्देशन दिएको उपप्रमुख खड्काले बताइन् ।

स्थानीय बासिन्दा भने पटक–पटक ध्यानाकर्षण गराउँदा पनि खाल्डो नपुरिएको र ठाउँ–ठाउँमा सरकारले नै मान्छे मार्न धराप थापेको जस्तो देखिएको गुनासो गर्छन् । काठमाडौंकै खाल्डोमा खसेर ज्यान गएको यो पहिलो घटना भने होइन । काठमाडौं उपत्यकामा धाराप खाल्डा धेरै छन् ।

गत वर्ष असारमा पनि विद्यालयबाट फर्किंदै गरेकी ११ वर्षीया बालिका विनिता फुयाँलको नेपालटारस्थित ढलमा बगेर मृत्यु भएको थियो । सोही दिन सामाखुसीमा सत्या सापकोटा ढलमा बगेकी थिइन् । उनको भने सकुशल उद्धार गरिएको थियो ।

प्रकाशित समय १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु