गृहपृष्ठ नुवाकोटका पहाड-पहाडमा पक्की घर

नुवाकोटका पहाड-पहाडमा पक्की घर

nuwakot-pahad-newskarobar

नुवाकोटको विदुर नगरपालिका–७, केवरपानीका भूकम्पपीडित अर्जुनप्रसाद अधिकारीले पाँच कोठाको पक्की घर बनाएका छन् । सरकारबाट पहिलो र दोस्रो किस्ताबापतको दुई लाख रकम लिएपछि अपुग रकम थपथाप गरेर उनले पक्की घर बनाएका हुन् । उनी तेस्रो किस्ता लिने प्रक्रियामा छन् ।

विदुर नगरपालिका–१०, कठेरीका विष्णु कट्टेलले पनि सरकारबाट पाउने पूरै तीन लाख रकम लिएर दुई कोठाको पक्की घर बनाएका छन् । कठेरीकै राजु अधिकारीले पनि चार कोठाको पक्की घर बनाइरहेका छन् ।

अर्जुनप्रसाद, विष्णु र राजुमात्र होइन, नुवाकोटका पहाडी क्षेत्रमा यतिखेर धमाधम पक्की घर बनिरहेका छन् । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पमा घर भत्किएकाहरुले सरकारबाट पाएको अनुदान रकममा थपथाप गरी दुई कोठाको भए पनि पक्की घर बनाएका हुन् ।

‘भूकम्पमा माटोका घर डाङडुङ भत्किए, माटोका घरप्रतिको विश्वास नै टुट्यो,’ ६१ वर्षीय अर्जुनप्रसाद भन्छन्, ‘त्यही भएर पक्की घर बनाएँ ।’ सरकारी मापदण्डअनुसार भूकम्पप्रतिरोधी घर बनाएको उनले बताए । अधिकांश भूकम्पपीडितले माटोका घरप्रति भर नलागेर पक्की घर बनाएको बताए ।

नुवाकोटको कठेरी र केवरपानी गाउँ सदरमुकामसमेत रहेको विदुर नगरपालिकामा परेर पनि निकै दुर्गम छन् । यहाँका बासिन्दाले आफूले उत्पादन गरेको कृषि उपज विदुर बजारसम्म पुर्याउन निकै सास्ती खेप्नुपर्छ । केही अघिसम्म बोकेरै लैजानुपर्थ्यो । अचेल मिनी ट्रक चल्न थालेकाले उनीहरुले केही सहज भएको छ । बिरामी पर्दा निकै सास्ती खेप्नुपर्छ । बाटोको असुविधाकै कारण सार्वजनिक यातायात सञ्चालनमा छैन । हिँडेर विदुर पुगेर फर्किनुपर्यो भने दिनै खेर जान्छ ।

‘तर कम्तीमा ओत लाग्ने ठाउँ भरपर्दो भयो भने धेरै सहज महसुस हुने रहेछ,’ ५१ वर्षीय विष्णुले भने, ‘त्यही भएर प्रतिबोरा सिमेन्टलाई एक सय रुपैयाँ भाडा तिरेर भए पनि पक्की घर नै बनाएँ ।’ पहाडी क्षेत्रका बासिन्दाले घर बनाउने सामग्री बालुवा, फलामको रड, इँटा, सिमेन्टका ब्लकलगायत खरिदमा ठूलो रकम भाडामै बुझाउनुपर्छ । त्यही भएर घर बनाउने लागत पनि बढ्छ । तर, लागत बढे पनि सुरक्षाका लागि उनीहरु भूकम्पप्रतिरोधी पक्की घर बनाउन लागिपरेका हुन् । भूकम्पका कारण नुवाकोटमा वर्षौं पुराना माटोका गारोका घर भत्किएका छन् ।

जिल्ला अनुदान व्यवस्थापन कार्यालय नुवाकोटका अनुसार जिल्लाका ७६ हजारभन्दा बढी घरधुरी पुनर्निर्माणका लागि अनुदान पाउने सूचीमा छन् । तीमध्ये ६६ हजारभन्दा बढीले पहिलो किस्तामात्र लिएका छन् । ६१ हजारजतिले दोस्रो किस्ता लिएका छन् भने २७ हजारजतिले तेस्रो किस्ता पनि लिइसकेका छन् । बाँकी तेस्रो किस्ता रकम पनि धमाधम वितरण भइरहेको र लाभग्राहीले लगातार लिइरहेको कार्यालय प्रमुख उशेष श्रेष्ठले जानकारी दिए । ‘प्रक्रिया पुर्याएर आउने लाभग्राहीले तेस्रो किस्ता रकम पाइरहेका छन्,’ श्रेष्ठले न्युज कारोबारसँग भने । भूकम्प अतिप्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरी पुनर्निर्माणका लागि अनुदान पाउने सूचीमा छन् ।

प्रकाशित समय १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु