गृहपृष्ठ कर्णालीका मन्त्री वडाध्यक्षको हैसियतका : नेता शाही

कर्णालीका मन्त्री वडाध्यक्षको हैसियतका : नेता शाही

karnali-samsad-newskarobar

कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता सांसद जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारका मन्त्री वडाध्यक्षको हैसियतको भएको बताएका छन् । बुधबार बसेको संसद बैठकमा सांसद शाहीले भने, ‘कर्णालीका मन्त्रीलाई मन्त्री होइन, वडाध्यक्ष हुन सुहाउँछ ।’

कर्णाली सरकारमा समाजवाद होइन, साम्यवादको हावी भएको आरोप उनले लगाए । राज्यको दोहन गर्ने अधिकार कसैलाई नभएको भन्दै नेता शाहीले सांसदहरुको अपहेलना गर्ने अधिकार एउटा व्यक्तिलाई पनि नभएको बताए । ‘रातो किताब हेर्दा बेहोस हुने स्थिति छ, मेलामा जाँदा मन्त्रीहरु हेलिकप्टर चढ्ने तर बजेट भने लाजलाग्दो ल्याउनु गलत हो,’ उनले भने, ‘कर्णाली सरकार यही गतिमा हिँडे पाँच महिनामा सरकार परिवर्तन गर्नुपर्ने स्थिति आउँछ ।’

बैठकमा सत्तापक्षका सांसद अम्मरबहादुर थापाले कर्णाली प्रदेश सरकार एउटा गाउँसभा जस्तो भएको बताए । उनले भने, ‘मन्त्रीहरुको मुखमा कर्णालीको समृद्धि छ तर व्यवहारमा छैन ।’ त्यस्तै सांसद डम्बर विष्टले कर्णाली सरकारको बजेट मन्त्रीका आसेपासेको बाहेक कर्णालीका जनताको समृद्धिका लागि नभएको टिप्पणी गरे । सांसद पदमबहादुर रोकायले रातो किताबमा कोही गाउँमा औंशी र कोही गाउँमा पूर्णिमाको स्थिति भएको बताए ।

बैठकमा बोल्ने सबै सांसदले कर्णाली प्रदेश सरकारको चर्को आलोचना गरेका छन् । कर्णाली सरकारले गौरवशाली बजेट नल्याई वडाले ल्याउने जस्तै टुक्रे बजेट ल्याएको, मन्त्रीको क्षेत्रमा धेरै र सांसदको क्षेत्रमा थोरै बजेट हालेको, कुनै क्षेत्रमा आवश्यकताभन्दा बढी र कुनै क्षेत्रमा एकदमै कम बजेट छुट्याएको भन्दै सांसदहरुले आक्रोश व्यक्त गरेका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधाको व्यवस्था गर्न बनेको विधेयक २०७५ को सैद्धान्तिक छलफलमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद हिमबहादुर शाहीले मन्त्रीहरुको पारिश्रमिक बढी भएको बताए । सांसद सीता नेपालीले मन्त्रीहरुको सेवासुविधा बढी भएको र सांसदहरुको सेवासुविधा पनि सुहाउँदो हुनुपर्ने बताइन् । अर्को बैठक कात्तिक १६ गते शुक्रबार बस्नेछ ।

प्रकाशित समय १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु