गृहपृष्ठ ३ महिनामा ६३ हजारलाई प्रहरी रिपोर्ट
३ महिनामा ६३ हजारलाई प्रहरी रिपोर्ट
प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५–७६ को तीन महीनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी रिपोर्ट प्रदान गरिएको हो ।
गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने प्रहरी रिपोर्ट छिटोछरितो उपलब्ध गराउन इमेलबाटै आवेदन लिने र इमेलबाटै प्रहरी रिपोर्ट पठाउने व्यवस्था मिलाइएको बताउछन् ।
‘विदेश जानेलाई विभिन्न केन्द्र र सातै प्रदेशबाट आवेदन लिने तथा प्रमाणपत्र दिने व्यवस्था मिलाएका छौँ ।’ उनले भने ‘अझै छिटोछरितो र सहज हुने गरी उपलब्ध गराउन भविष्यमा अनलाइनबाटै प्राविधिक तयार गर्ने प्रक्रिया अगाडि बढाएको छ ।’ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महानिरीक्षक भएसँगै उपत्यकाका चार स्थानमा सेवा थप गरेका थिए ।
हाल काठमाडौँको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, कालिमाटी, गौशाला, महानगरीय प्रहरी परिसर भक्तपुर र परिसर ललितपुर तथा सातै प्रदेशबाट प्रहरी रिपोर्ट लिने व्यवस्था गरिएको छ ।
प्रवक्ता सुवेदीका अनुसार काठमाडौँ उपत्यकाभित्र भरेको फाराम तीन दिनभित्र, प्रदेश कार्यालयबाट एक हप्तामा र विदेशी नागरिकका लागि एक हप्तामा रिपोर्ट लिन मिल्ने व्यवस्था छ ।(रासस)
प्रकाशित समय ०९:१३ बजे

















