गृहपृष्ठ पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत पूरा
पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत पूरा
पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ ।
नेपाल आयल निगम पेट्रोलियम पाइपलाइन परियोजनाका अनुसार सिमावर्ती भारतीय शहर रक्सौलदेखि अम्लेखगञ्जसम्म ३७ दशमलब ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिछ्याउने काम पूरा भएको हो ।
रक्सौलदेखि अम्लेसगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन बिस्तारको काम दु्रतगतिमा भइरहेको परियोजनाका प्रमुख भानुक्त खनालले जानकारी दिएका छन् ।
नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने रुख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको प्रमुख खनालले बताए । रुख कटान गर्ने जिम्मेवारी नेपाल टिम्बर कर्पोरेशनलाई दिइएको छ भने काटिएका रुखको क्षतिपूर्ति आयल निगमले वन मन्त्रालयलाई दिने सहमति भएको छ ।
सो आरक्षण क्षेत्रबाट करीब पाँच हजार ८८८ रुख काट्ने सहमति भएको बताइएको छ । रुख कटान हुनासाथ एक महिनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने प्रमुख खनालको भनाइ छ ।
पाइपलाइन बिस्तारका लागि आरक्ष क्षेत्रको १० किलोमिटर वन पर्छ ।
नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँको सहयोगमा उक्त पाइपलाइनको निर्माण भइरहेको छ । भारततर्फ विहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन बिस्तार कार्यक्रमअन्तर्गत तीन किमी बनाउन बाँकी रहेको बताइएको छ ।(रासस)
प्रकाशित समय ०८:५८ बजे

















