गृहपृष्ठ बुटवलको गर्मी छल्न पाल्पाको नुवाकोटसम्म केवलकारमा सरर

बुटवलको गर्मी छल्न पाल्पाको नुवाकोटसम्म केवलकारमा सरर

तीन महिनामा निर्माण थालिने, भारतीय पर्यटक भित्र्याउने मुख्य लक्ष्य

रुपन्देहीको प्रमुख सहर हो बुटवल । बुटवल चुरे पहाडको काखमा रहेको बुटवल प्रदेश पाँचको अस्थायी मुकाम हो । पछिल्लो समय बुटवलमा विकास निर्माणको कामले गति लिन थालेको छ । बुटवल देखि भारतको सिमा नाका (सुनौली) वेलहिया सम्म जोड्ने ६ लेनको सडक, निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीसहितका दर्जन बढी विकासका काम जारी छ ।

पर्यटकीय दृष्टिकोणबाट समेत महत्वपूर्णस्थलको रुपमा बुटवलको पहिचान बन्दै गएको छ । खासगरी भारतीय स्थल मार्ग हुँदै नेपालका विभिन्न पर्यटकीय क्षेत्र, गौतम बुद्ध जन्मस्थल लुम्बिनी, हिमाली जिल्ला मनाङ र मुस्ताङ रुट हो बुटवल । भैरहवा लुम्बिनीदेखि केही नजिक भए पनि तुलनात्मक रुपमा केही गर्मी हुने स्थानको रुपमा पर्दछ । त्यसकारण पर्यटक वास बस्न बुटवल नै रोज्ने गर्छन् ।

पर्यटकीय स्थानको नयाँ गन्तब्य खोजी गर्ने क्रममा पाल्पाको तिनाउँ गाउँपालिका– ३ स्थित नुवकोट डाँडा र सोही गाउँपालिकाकै बसन्तपुर डाँडा फेला परेको छ । सो स्थानलाई बुटवलसँग जोडेर नयाँ गन्तव्यका रुपमा विकास गर्ने परिकल्पनासमेत थालिएको छ । सो योजनालाई सहज बनाउन अहिले केवलकार सञ्चालनको विषय उठेको छ ।

मणिमुकुन्द सेन उद्यान(फुलवारी) देखि नजिकैबाट सिद्धार्थकेवलकार प्रालिले पाल्पाको नुवाकोट डाँडासम्म केवलकार चलाउने प्रक्रिया थालेको छ । करिब सवा अर्ब रुपैयाँ लगानीमा नुवाकोटसम्म केवुलकार निर्माणका लागि जग्गाको व्यवस्थापनको काम भएको छ । सो स्थानमा पर्ने वनक्षेत्रका लागि बुटबल सामुदायिक वन ले स्वीकृति प्रदान गरिसकेको छ ।

ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणि मुकुन्दसेन उद्यान फुलबारीदेखि उत्तरपूर्वपट्टि देउरालीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालन हुने केवलकारको लम्बाई २ किलोमिटर ९० मिटर रहने छ । केवलकारको बेस स्टेशन बुटवल माध्यामिक विद्यालयको उत्तरपट्टि शिखर देउराली भन्ने स्थानमा रहने बताइएको छ । यस्तै टप स्टेशन पाल्पा जिल्लाको नुवाकोट डाँडामा राखिनेछ ।

सन् २०२० को जनवरीसम्म निर्माण सम्पन्न गरी सञ्चालनमा आउने महत्वाकांक्षी योजना संञ्चालनमा आएपछि प्रत्यक्ष ६० र अप्रत्यक्ष १ सय ५० जनाले रोजगारी पाउने कम्पनीले जनाएको छ । रोपवे नेपाल प्रालिका अध्यक्ष तथा सिद्धार्थ केवल प्रालिका निर्देशक समेत रहेका गुणराज ढकालका अनुसार केवलकार निर्माणको सबै प्रक्रिया भइसकेको छ । मन्त्रिपरिषद्को निर्णय मात्र पर्खिएको उनको भनाइ छ ।

नेपाली इन्जिनियरबाट नक्सा तयार भएपछि विस्तृत डिजाइनका लागि अष्ट्रेलियाबाटसमेत इन्जिनियर झिकाएर तयार पारिने बताइएको छ । अध्यक्ष ढकालले भने ‘आउने जनवरीदेखि काम सुरु गर्छौ, रुख कटानको स्वीकृति पाइसकेका छौ ।’

पर्यटकीय हव बनाउने योजना
पाल्पाको नुवाकोट डाँडामा भैरवकामना मन्दिर निर्माण गरिएको छ । सोही मन्दिरलाई मुख्य केन्द्रमा राखेर सो डाँडामा स्तरीय होटल र रिर्सोट निर्माण गरिने छ । होटलका अलवा पार्कसमेत निर्माण गर्ने बताइएको छ । बुटवल देखि भारतीय सिमा(सुनौली) बेलहिया नाका मात्रै २४ किलोमिटर टाढा छ ।

बुटवल–भैरहवा मात्रै २१ किलोमिटर छ । अहिले करिब ४५ मिनेटदेखि एक घण्टाको अवधि लाग्ने भए पनि दूरी घटाउने काम भइरहेको छ । निर्माणाधीन ६ लेन सडकले सो अवधि छोट्याउनेछ । जसले भारतीय पर्यटकलाई सहजसमेत हुनेछ । धेरै टाढा पनि नहुँदा केवलकारको माध्यमबाट पाल्पा नुवाकोट पुग्न सजिलो पनि हुनेछ । गर्मी छल्नसमेत सो स्थान उपयुक्त हुनसक्छ ।

मुख्य लक्षित पर्यटक भारतीय भए पनि भैरहवमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि आउने विदेशी पाहुनाहरुको लागि पनि नुवाकोट डाँडा केही दिन बस्नका लागि उपयुक्त हुन सक्छ ।
अहिलो पाखो डाँडाको रुपमा रहेको उक्त स्थानलाई राम्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गरी स्थानीयलाई नै रोजगारी प्र्रदान गर्ने कम्पनीको योजना रहेको अध्यक्ष गौतमले बताए ।

हिमाल र भारत जोड्ने डाँडा
बुटवल देखि मात्रै ४ किलो मिटर दुरीमा रहेको नुवाकोट डाँडाबाट भारतको नैतुनहवा प्रस्ट रुपमा देखिन्छ । साँझको समयमा नैतुनहवामा रेल गुडेको, रेलको प्रकाश पनि देख्न सकिने स्थानीयको भनाइ छ । बुटवलका पुराना होटल व्यवसायी, होटल व्यवसायी महासंघ नेपालका पुर्व अध्यक्ष तथा नुवाकोटमा रिर्सोट सञ्चालनको तयारी गरेका व्यवसायी माधव नेपालका अनुसार नेपाल र भारतको सम्बन्ध जोड्ने डाँडाको रुपमा नुवाकोट डाँडालाई तयार गर्न सकिन्छ ।

बुटवलको चर्को गर्मीबाट सितलता हासिल गर्नको लागि केही मिनेटको अवधिमै नुवाकोट डाँडाले साच्चै नै पर्यटकको मन लोभ्याउन सफल हुने उनेको भनाइ छ । नुवाकोट डाँडाबाट सुन्दर हिमाल समेत देखिन्छ ।

पुरानो बटौली(खस्यौली) र नुवाकोट गढीको उत्थान
बुटवलदेखि नुवाकोटगढीसम्म केवलकार सञ्चालनपछि पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने बताइएको छ । अहिले गुल्जार कमी भएको तत्कालिन खस्यौली सहरको आसपासमा नै केवलकारको स्टेशन बन्ने भएपछि उक्त क्षेत्रको आर्थिक चलायमानमा पनि विशेष योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

शुरुमा दैनिक ५ हजार यात्रु बोक्ने क्षमता रहने केवलकारको अधिकतम क्षमता दैनिक १० हजार भएको कम्पनीले जनाएको छ । केवलकारमा अधिकतम ९० वटा डिब्बा रहनेछन् ।

प्रकाशित समय १०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु