गृहपृष्ठ निर्मला पन्तका बाबुआमा धर्नामा बस्दै
निर्मला पन्तका बाबुआमा धर्नामा बस्दै
बाबु यज्ञराज भन्छन्– सरकारले दोषी पत्ता लगाउन सक्दैन भने चुप बस्छौ
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज एक सय ९ दिन पुगेको छ ।
निर्मलाका परिवार भने लामो समयसम्म न्याय नपाएको भन्दै अनशनमा बस्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअघि निर्मलाका बाबुआमले आजदेखि अनशनमा थाल्ने भएका छन् । अनशन ११ बजे सुरु हुने बताइएको छ ।
‘निर्मलाको हत्या भएको यत्तिका समय भयो तर सरकारले दोषी पत्ता लगाइदिएन । अब हामी जिल्ला प्रशासन कार्यालयअगाडि अनशन बस्छौ,’ निर्मलाका बाबु यज्ञराजले भने । सरकारले न्याय दिन सक्दैनौ भने मात्र आफूहरु चुप लागेर बस्ने उनको भनाइ छ । उनले भने, ‘हामीलाई न्यायको आस मरेको छैन, कि न्याय देउ कि सक्दैनौ भन ।’
सरकारले निर्मलाको हत्यापछि घोषणा गरेको क्षतिपूर्ति रकम समेत उनका आमाबाबुले लिएका छ्रैनन् । हत्यामा संलग्न पत्ता लगाउनुको साटो उल्टै पैसाको प्रलोभन देखाएको निर्मलाका बाबु यज्ञराजको भनाइ छ । कञ्चनपुरका सहायक सिडियो शंकर विष्टले निर्मलाका परिवारलाई दसैंको समयमा सरकारले घोषणा गरेको पैसा लिन आग्रह गरेका थिए । तर निर्मलाका बाबुले पैसा चाहिन्न हत्यामा संलग्नलाई पहिले पत्ता लगाइदिनुस् भनेका थिए ।
सरकारले निर्मला हत्या विषयमा गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा समिति गठन गरी छानबिन गरेको थियो । समितिले प्रतिवेदन गृहमन्त्रीलाई बुझाएर सोही आधारमा तत्कालिन एसपी विष्ट निलम्बनमा पर्नुबाहेक कुनै ठोस उपलब्धी भने हासिल भएन ।
तत्कालिन प्रहरी प्रहरी प्रमुख, एसपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरी अनुसन्धानले मानसिक सन्तुलन ठिक नभएका दिलिप बिष्टलाई अपराधी करार गरे पनि डिएनए परीक्षणमा उनी निर्दोष देखिए । साथै एसपी विष्ट प्रमाण नष्ट गरेको र दोषी लुकाउन भूमिका खेलेको अभियोगमा निलम्बनमा परिसकेका छन् । तर, न त निर्मलाका हत्याराबारे प्रहरी अनुसन्धान परिणममुखी छ न त सरकार जिम्मेवार ।
गत साउन १० गते साथिको घर जान भन्दै हिँडेकी निर्मलाको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो ।
प्रकाशित समय ०८:४४ बजे

















