गृहपृष्ठ फाल्गुनन्दको १३४औं जन्मजयन्ती, विशाल शालिक अनावरण गरिँदै

फाल्गुनन्दको १३४औं जन्मजयन्ती, विशाल शालिक अनावरण गरिँदै

आजभन्दा ८७ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य थिएन ।

सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसंं १९८८ वैशाख २५ गते पाँचथरको लेब्रेकुटीमा मांसाहार र मदिरा सेवन निषेध गर्ने सहमति सम्भव भएको थियो । यो घटनालाई इतिहासमा ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’को रुपमा चिनिन्छ ।

किरात धर्मको समाज सुधारकको रुपमा परिचित उनै गुरु फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्ती आज किरात धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदैछन् । २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ साल कात्तिक २५ गते आइतबार प्रदेश न. १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो ।

किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिन फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनु पर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाएका थिए ।

विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका उनलाई किरात धर्मावलम्बीहरुले देवदूतको रुपमा उच्च सम्मान गर्दैआएको किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम बताउछन् ।

अध्यक्ष थेगिमका अनुसार किरातीहरुलाई अहिंसा र विश्वबान्धुत्वको महान् ज्ञान प्रदान गर्ने फाल्गुनन्दले विसं १९८८ साल वैशाख २५ गते दश लिम्बु र १७ थुमका वरिष्ठ व्यक्तिहरुलाई पाँचथरको लेबे्रकुटी भन्ने स्थानमा भेला गराएर दश बुँदे ‘सत्य हाङ्मा मुचुल्का’मा सहीछाप गराएका थिए ।

त्यही ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’लाई फाल्गुनन्दको मुख्य सन्देशको रुपमा लिइने गरिएको छ । नौ हात लामो काँचो कागजमा लेखिएको मुचुल्काको एउटा प्रतिलिपी आफूसँग सुरक्षित भएको अध्यक्ष थेगिमले जानकारी दिए ।

धर्म मुचुल्कामा मदिरा, बली प्रथालगायतलाई निषेध गर्ने र किरातीहरुलाई अति तडकभडकयुक्त बिहे संस्कारबाट जोगाउने लगायतका सामाजिक सुधारका नयाँ नीतिहरु समावेश गरिएका छन् । उनले नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनु पर्ने सन्देशको प्रचार गरेर लैगिंक समानताको वकालत गरेका थिए ।

समाज सुधारक र मुन्धुमका संरक्षणकर्ता फाल्गुनन्दको जन्म अति गरिब परिवारमा आमा हंशमति र बुवा जगनबाज लिम्बुको कोखबाट साहिला सन्तानको रुपमा भएको थियो । उनी आठ वर्षकै उमेरमा ज्ञानी र ध्यानी भएका थिए ।

न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उनी बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती भएका थिए । बेलायती सेनामा केही वर्ष काम गरेका फाल्गुनन्दले मारकाट र लडाइँ झगडा नराम्रा कुरा हुन् भन्ने सोचेर जागीरबाट राजीनामा दिई धार्मिक सुधार अभियान चलाए । यस क्रममा उनी भारत र भुटानसम्म पुगेको बताइन्छ ।

सरकारले विसं २०५० सालमा महागुरु फाल्गुनन्दको नाममा सम्मानस्वरुप १५ रुपैयाँको हुलाक टिकट प्रकाशन गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सरकारको नेतृत्वमा रहेका बेला विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा किरात धर्मावलम्बीहरुका लागि सरकारी सार्वजनिक विदा दिने निर्णय भएको थियो ।

झापाको दमक र अर्जुनधारा नगरपालिका, इलामको माङ्सेबुङ, चुलाचुली, पाँचथरको फिदिम, ताप्लेजुङको फक्ताङलुङलगायतका पालिकाहरुले आज कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

विश्वबान्धुत्व र अहिंसाका महान् तपस्वी किरात धर्मगुरु फाल्गुनन्दको पवित्र सन्देशलाई विश्वभर फैलाउने कार्यमा उनका नातिसमेत रहेका किरात धर्मगुरु आत्मानन्द लिङ्देनले अगुवाइ गरिरहेका छन् ।

धर्मगुरु फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीको उपलक्ष्यमा आज पाँचथर सदरमुकाम फिदिममा फाल्गुनन्दको विशाल शालिकको अनावरण गरिँदैछ । (रासस)

प्रकाशित समय १०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु