गृहपृष्ठ नेकपाका नेता भन्छन्– जनमत खेर जान दिँदैनौं

नेकपाका नेता भन्छन्– जनमत खेर जान दिँदैनौं

सत्तारुढ दलका नेताहरुले निर्वाचन घोषणापत्र र सरकार बनेपछिको नीति तथा कार्यक्रम अगाडि राखेर काम भइरहेको बताएका छन् । काठमाडौं वडा नम्बर २ ले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले जनताको चाहानाविपरित कुनै काम नगर्ने र हुन नदिने प्रतिबद्धता पनि जनाए ।

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले चुनावमा जनताको घरदैलोमा गएर गरेका बाचा पूरा गर्ने गरी सरकारले काम गरिरहेको बताए । ‘निर्वाचन घोषणापत्र र वामपन्थी नेतृत्वमा सरकारले तय गरेका नीति तथा कार्यक्रम कार्यान्वयन गरेरै हाम्रो पाँच वर्ष कार्यकाल बित्नेछ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘हामी जनमतको सम्मान गर्छौं ।’

उनले कुनै बाहानामा विकास निर्माणको काममा ढिलाइ हुन नदिन प्रदेश तथा स्थानीय तहलाई आग्रह पनि गरे । ‘विकास निर्माणको काममा गोश्वारा ढंगले समस्या नल्याउनुहोला,’ उनले भने, ‘हामीलाई जनताले दिएको मतको सम्मान गर्नुहोला ।’ खासगरी वडा कार्यालयले सेवा प्रवाह र विकास निर्माणको कामलाई गम्भीर रुपले लिनुपर्ने उनले बताए ।

कार्यक्रममा प्रदेश ३ क्षेत्र नं. ५ (क) का सांसद नारायण सिलवालले आर्थिक सुशासन कायम गर्न सकेमात्र मुलुकको समृद्धि सम्भव हुने बताए । उनले सबैलाई भ्रष्टाचार, कुरिति र कुशासनविरुद्ध एकजुट हुन आह्वान पनि गरे । ‘सरुवा, बढुवालगयातका भनसुनको प्रथा अन्त्य हुनुपर्छ’ उनले भने, ‘मुलुकमा एउटा स्वच्छ प्रणालीको विकास हुनुपर्छ ।’

सिंगो सरकार आर्थिक समृद्धिको अभियानमा लागेकाले त्यसमा सहयोग गर्न उनले सबैलाई आह्वान गरे। ‘देश बनाउने कुरा हो, यो बने हामी सबै बन्छौँ, हाम्रा सन्ततीको भविष्य बन्छ,’ सांसद सिलवालले भने, ‘त्यसैले आर्थिक समृद्धिका महान अभियानमा सरकारलाई सबैलाई साथ दिनुपर्छ ।’

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अहिले पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे । अन्य काम पनि आफू कार्यकालमै सक्ने उनले बताए । ‘अहिले धेरै वडामा कालोपत्रे गर्ने ठाउँ छैन, हामीले गरिसक्यौं,’ प्रमुख शाक्यले भने, ‘मेलम्ची आयोजना र सडक विस्तारको काम सकियोस्, त्यसपछिको दुई वर्षमा हामी सबै काम सक्छौं ।’ उनले काठमाडौंबासीले दिएको मत खेर नजाने प्रतिबद्धता दोहोर्याए ।

कार्यक्रम आयोजक वडा नम्बर २ का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आफू निर्वाचित भएपछि वडाबासीको समस्यालाई केन्द्रमा राखेर काम गरिरहेको बताए । ‘चुस्त सेवा प्रवाह र वडाबासीका लागि अत्यावश्यक पूर्वाधार निर्माण, मर्मतको कामलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं ।’ उनले भने । वडाअध्यक्ष श्रेष्ठले आफू निर्वाचित भएपछि भएगरेका कामबारे लिखित खाका प्रस्तुत गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतिले जनता र जनप्रतिनिधिबीच संवाद र समन्वयको अभाव हुन नहुनेमा जोड दिए । उनले विकास र समृद्धिका लागि जनतासँग नजिक सम्बन्ध बनाएर काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह पनि गरे । कार्यक्रममा प्रदेश सांसदहरु योगेन्द्र संग्रौला, सिता अधिकारी र पूर्व स्वास्थ्यमन्त्री भरत प्रधानको पनि उपस्थिति थियो ।

प्रकाशित समय ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु