गृहपृष्ठ पोखरामा १ सय २७ जनामा डेंगु भेटियो

पोखरामा १ सय २७ जनामा डेंगु भेटियो

पोखरामा डेंगु संक्रमण घट्दो क्रममा रहेको छ । पोखरामा यो वर्षको असोज देखि अहिलेसम्म १ सय २७ जनामा डेंगु संक्रमण भेटिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा. तारा अधिकारीले बताए ।  उनका अनुसार पोखरामा ३५ जनाले पोखराका विभिन्न अस्पतालमा उपचार गराइ रहेका छन् । डेंगु संक्रमण घट्दो क्रममा रहे पनि घर वरिपरी सरसफाई गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा. तारा अधिकारीले पोखरामा डेंगु संक्रमण भेटिएसँगै पोखरा महानगरपालिकासँगको सहकार्यमा प्रदेश सरकारले रोकथामको लागि पोखरा क्षेत्रमा सचेतना अभियान सहित सरसफाई कार्यक्रम गर्दै आएको बताए । उनले भने, ‘हाल पोखरामा डेंगु संक्रमण नियन्त्रणमा आएको छ, यद्यपी घर वरिपरी पानी जमेको छ भने लामखुट्टेले फुल पार्न सक्छ, त्यसैले निरन्तर रुपमा सरसफाईमा ध्यान दिन जरुरी छ ।’

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले डेंगु सचेतना अभियान सहित परामर्श समेत दिँदै आएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका निर्देशक हेमन्त शर्मा पौडेलले बताए ।
पोखरा महानगरपालिका वडा नम्बर ८ मा असोजको पहिलो सातामा दुई जनालाई डेंगु संक्रमण लागेको पुष्टि भएसँगै संक्रमणका बिरामीको खोजी गर्दा धेरैको संख्यामा डेंगुको बिरामी भेटिएको उनले जनाए ।

वर्षादको समय सकिएसँँगै हिउँदको समय सुरु हुने मौसममा सफा पानी कुनै खुला भाडामा धेरै दिनसम्म राख्नाले वा कुनै स्थानमा नबग्ने गरी सफा पानी भए पनि उक्त स्थानमा लामखुट्टेले धेरै फुल पार्न सक्ने निर्देशक पौडेलले बताए । हालसम्म गण्डकी मेडिकल कलेज, चरक मेमोरियल, फेवासिटी, फिस्टेल हस्पिटल, पश्चिमाञ्चल क्षत्रिय अस्पताल, पश्चिमाञ्चल सामुदाहिक हस्पिटलमा उपचार गर्न पुगेका व्यत्तिहरुमा डेंगू संक्रमण देखिएको हो ।

डेंगु संक्रमणलाई समयमै रोकथाम गर्न नसके बढी रक्तश्राव भएर मानिसको ज्यान समेत जान सक्छ । पोखराको नागढुंगा क्षेत्रमा यसको बढी संक्रमण देखिएको थियो । वान्ता हुने, शरीर कमजोर हुने, खानामा रुचि नहुने जस्ता लक्षण देखिन्छ ।

प्रकाशित समय १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु