गृहपृष्ठ मरेपछि पनि लाइनमा

मरेपछि पनि लाइनमा

पशुपति आर्यघाटमा रहेको नेपालको एक मात्र विद्युतीय शवदाह गृहको एउटा मेसिन बिग्रँदा शव जलाउन घण्टौं पालो कुर्नुपर्ने बाध्यता छ । यसअघि पनि पटक–पटक बिग्रँदै आएको विद्युतीय मेसिन मर्मत नगरिँदा शव जलाउन जानेहरु लाइनमा बस्नुपरेको हो ।

२०७२ माघ १० गतेबाट सञ्चालनमा आएको विद्युतीय शवदाह गृहमा दुईवटा मेसिन छ । जसमा अहिले एउटामात्र सञ्चालनमा छ । दाउराभन्दा विद्युतीयबाट शव जलाउन चाहनेको संख्या बढ्दै गर्दा पनि पशुपति क्षेत्र बिकास कोषले बिग्रिएको मेसिन मर्मत नगर्दा समस्या भएको हो ।

मेसिन बिग्र्रिएको डेढ महिनाभन्दा बढी हुँदासमेत मर्मतका लागि कोषले चासो दिएको छैन । विद्युतीय मेसिनबाट एक शव जलाउन एक घण्टा लाग्छ । तर, एकैपटक चार–पाँचवटा शव आएको समयमा चार–पाँच घण्टा कुर्नुपर्ने बाध्यता छ । पशुपति आर्यघाटमा दैनिक १२ देखि ४० जनासम्मको दाहसंस्कार हुने गरेको छ । त्यसमध्ये आधाभन्दा बढी शव विद्युतीय शवगृहमा आउने गरेका छन् ।

प्राविधिक समस्या आएकाले एउटा मेसिन बन्द भएको कोषले जनाएको छ । भारतबाट प्राविधिक आएपछि मर्मत गरिने कोषका कार्याकारी निर्देशक रमेशकुमार उप्रेतीले बताए । ‘प्राविधिक आएपछि मर्मत गरेर दुईवटा मेसिन सञ्चालनमा ल्याउनेछौं, अहिले एउटै मेसिनले काम चलाउँदै आएका छौं,’ उनले भने । विद्युतीय मेसिनबाट शव जलाउँदा वायु प्रदूषण कम हुने, समयको वचत हुने र आर्थिक स्थिति कमजोर हुनेहरुलाई सहज हुने गरेको छ ।

प्रकाशित समय १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु