गृहपृष्ठ भुटानी शरणार्थीको घर फिर्तीका लागि पहल

भुटानी शरणार्थीको घर फिर्तीका लागि पहल

indrika-ratwatte

सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भुटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भुटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्र संघीय उच्चायोग (यूएनएचसीआर) ले पहल गर्ने भएको छ ।

मोरङ पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईसहितका जनप्रतिनिधिसँग भएको भेटघाटमा युएनएचसीआरका एसिया ब्युरो निर्देशक इन्द्रिका रवाट्टेले भुटानी शरणार्थी समस्या समाधानमा यूएनएचसीआर सधैं लागिरहेको बताए । ‘यूएनएचसीआरले लगातार प्रयास नगरेको पनि होइन, अझै पनि नेपाल र भुटानसँग कुराकानी गर्न तयार छ, फेरि कोसिस गरौं,’ उनले भने ।

निर्देशक रवाट्टेले तेस्रो मुलुक पुनर्वास भएका भुटानी शरणार्थी र शिविरमा बाँकी रहेका शरणार्थीको छुटेका परिवारलाई एक ठाउँ ल्याउनेतर्फ यूएनएचसीआरले पहल गर्ने बताए ।

भेटमा नगर प्रमुख राईले भुटानमा नेपाली भाषी पनि सांसद बनेको भन्दै नयाँ सरकारसँग पहल गर्न केही सजिलो हुने बताए ।

सरकारले भुटानसँग वार्ता गरी समस्याको दिगो समाधान खोज्न पहल गर्नुपर्ने बताउँदै उनले त्यस्तो हुन नसकेमा नेपाल सरकारले उनीहरुको बसोबास र सुविधाको व्यवस्थापन गर्नसमेत तयार हुनुपर्नेमा जोड दिए । झापा र मोरङका विभिन्न शिविरमा ६ हजार ५०० शरणार्थी छन् । (रासस)

प्रकाशित समय ०७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु