गृहपृष्ठ तनहुँबासीलार्इ पनि बन्दीपुर केबलकारको सेयर
तनहुँबासीलार्इ पनि बन्दीपुर केबलकारको सेयर
बन्दीपुरबासीलार्इ ७५ सय तिरेपछि १० वर्ष केबलकारको सेवा
बन्दीपुरमा निर्माणाधीन केबलकारको सेयर तनहुँवासीले पनि पाउने भएका छन् । सेयर खरिदका लागि जिल्लाका अन्यत्र ठाउँका सर्वसाधारणले समेत चासो देखाएकाले बिक्री गर्न लागिएको बन्दीपुर केबलकार प्रालिले जनाएको छ ।
कम्पनीले बन्दीपुरबासीलार्इ मात्र लक्षित गरी सेयर खुला गरेकोमा कात्तिक २५ गतेदेखि सम्पूर्ण तनहुँबासीका लागि खुला गरिएको जनाएको छ । बन्दीपुरबाट मात्रै ११ करोड २० लाख उठ्न सम्भव नदेखिएपछि कम्पनीले समग्र तनहुँवासीलाई सेयर बेच्न लागेको हो । तनहुँबासीले मंसिर २५ गतेसम्म सेयर खरिद गर्न सक्नेछन् ।
कम्पनीले केबलकारमा स्थानीयका लागि ११ करोड २० लाखको सेयर छुट्याएको छ । बन्दीपुरका ६० जनाले केबलकारका लागि सेयरको फाराम भरिसकेका छन् ।
कम्पनीले १०० रूपैयाँका दरले ११ लाख २० हजार कित्ता प्रवर्धक सेयर सर्वसाधारणका लागि खुला गरेको छ । कम्पनीले बन्दीपुर आसपासका जनतालाई सात हजार ५०० तिरेपछि १० वर्षसम्म केबलकारको सेवा प्रदान गर्ने घोषणासमेत गरेको छ ।
पृथ्वी राजमार्गको बन्दीपुर गाउँपालिका–४, ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २०० जनाले वारपार गर्न सक्नेछन् । डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किमी उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबलकार निर्माण भएपछि नौ मिनेटमा बन्दीपुर पुगिनेछ ।
५६ करोड लागतमा निर्माण हुने केबलकारमा दुई सामान बोक्नेसहित १७ वटा कार रहनेछन् । करिब १५ महिनामा निर्माण सक्ने लक्ष्य राखिएको केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ ।
प्रकाशित समय ०७:२४ बजे

















