गृहपृष्ठ धर्नामा बसेका निर्मलाका आमाबुबाको स्वास्थ्य अवस्था कमजोर
धर्नामा बसेका निर्मलाका आमाबुबाको स्वास्थ्य अवस्था कमजोर
हत्यारा सार्वजनिक नभएसम्म धर्ना नतोड्ने
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको परिवार धर्नामा बसेको पाँच दिन बित्यो । छोरीको बलात्कारपछि हत्या गर्ने हत्याराई कारवाहीको माग गर्दै धर्नामा बसेका निर्मलाका आमाबुबाको पाँच दिनमा स्वास्थ्य अवस्था कमजोर भएको छ । निर्मलाकी आमा दुर्गादेवी पन्त र बुबा यज्ञराज पन्त अनिश्चितकालिन धर्नामा बसेका छन् ।
उनीहरुको धर्नामा अधिकारकर्मीले पनि साथ दिएका छन् । धर्नामा बसेका निर्मलाका परिवारको स्वास्थ्य अवस्था कमजोर भएपछि चिकित्सकको टोलीलले उनीहरुको स्वास्थ्य परीक्षण गरेको छ । बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले धर्ना स्थलमै उनीहरुको स्वास्थ्य परीक्षण गरेको हो । चिकित्सकका अनुसार उनीहरुको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।
‘खानाको मात्रा नमिलेकाले उनीहरुको ब्लडप्रेसर कम हुँदै गएको छ’ थप परीक्षणको लागी रगत लिइएको छ,’ उपचारमा संलग्न चिकित्सक किशोर बोहराले भने । स्वास्थ्य अवस्था कमजोर हुँदा पनि उनीहरुले धर्ना तोड्न मानेका छैनन् । ‘छोरीको हत्यारा सार्वजनिक नभएसमम्म धर्नामै बस्छौं,’ निर्मलाकी आमा दुर्गाले भनिन् ।
उनले आफूहरुले न्याय पाउने कि नपाउने सरकारसँग जवाफ माग गरिन् । न्याय नपाएसम्म धर्नामै बस्ने उनीहरुको अडान छ । निर्मलाको हत्या भएको ११२ दिन बित्यो तर हत्यारा पहिचान हुन सकेको छैन । उता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाका विषयमा अनुसन्धान भइरहेकाले दोषीलाई पक्राउ गर्ने बताएको छ ।
पछिल्लो समय विभिन्न व्यक्तिको डीएनए परिक्षण गरिएको जनाएको छ । तर उनीहरुको नाम सार्वजनिक गरिएको छैन । गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला भोलीपल्ट मृत अवस्थामा फेला परेकी थिइन् ।
प्रकाशित समय १५:३४ बजे

















