गृहपृष्ठ खाना खाएर हात धुन बाहिर निस्केका बेला लग्यो चितुवाले
खाना खाएर हात धुन बाहिर निस्केका बेला लग्यो चितुवाले
१० वर्षीय बालकको मृत्यु, भानुबासी त्रसित
चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । तनहुँको भानु नगरपालिका-२, ढल्केवरका १० वर्षीय अमृत गुरुङको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
खाना खाएर हात धुन आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेर लगेको थियो । छोरा घरभित्र नआएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा घरभन्दा केही तल रहेको खोल्सामा अमृतले लगाएको ज्याकेट भेटिएको थियो । खोल्साभन्दा तल अमृत घाइते अवस्थामा भेटिएका थिए । उनको घाँटीमा चितुवाले चिथोरेको थियो ।
भानु नगरपालिकामा चितुवाको त्रास बढेको छ । चितुवाको आक्रमणबाट १७ दिनको अवधिमा दुई जनाको ज्यान गएपछि स्थानीयवासी त्रसित भएका हुन् ।
कात्तिक २९ गते पनि चितुवाको आक्रमणबाट भानु नगरपालिका-४, जोखानेका चार वर्षीया बालिका रञ्जिता लम्सालको मृत्यु भएको थियो । मंसिर १ गते पनि भानु नगरपालिका-२ का सात वर्षीय सञ्जन नेपालीलाई पनि चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।
प्रकाशित समय ०७:४६ बजे

















