गृहपृष्ठ यमन ठूलो दुर्घटनाको खतरामा : राष्ट्रसंघ
यमन ठूलो दुर्घटनाको खतरामा : राष्ट्रसंघ
विश्व शान्तिका लागि कार्यरत राष्ट्रसंघले यमनमा स्थायी शान्तिका लागि द्वन्द्वरत पक्षसँग आह्वान गरिरहेका समय राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले शनिबार यमनमा ठूलो दुर्घटनाको खतरा रहेको बताएका छन् ।
सरकार पक्षधर समूहहरू तथा हुथी विद्रोहीबीच बन्दरगाह सहर होडैडामा चर्किएको द्वन्द्वका कारण उक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई मानवीय सहयोगको खाँचो परिरहेका समय उनको भनाइ आएको हो । ‘यमन ठूलो दुर्घटनाको खतरामा छ,’ प्रभावित क्षेत्रको भ्रमण गरी फर्किनुभन्दा पहिले सञ्चारकर्मीसँग लोककले भने ।
उनले आफूले सन् २०१७ को अक्टुबरमा पनि यमनको भ्रमण गरेको र उक्त समयभन्दा अहिले यमनको स्थिति ज्यादै फरक रहेको बताए । संयुक्त राष्ट्रसंघले यसअघि पनि यमनमा मानवीय संकट विश्वकै सबैभन्दा खराब अवस्थामा रहेको बताउँदै आएको छ ।
‘एडेनमा मैले भोकमरीको चपेटामा परेका बालबालिकामा रोग तथा खाद्यान्न अभाबका कारण निकै दुब्ला बालबालिकालाई देखेँ । हजारौँको संख्यामा रहेका उनीहरूले आफ्ना आँखा खोल्नसमेत नसक्ने अवस्थामा सार्वजनिक स्थलमा लडिरहेका ह्रदयविदारक दृश्यहरू देखेँ । यहाँ तत्काल स्थायी शान्तिको स्थापना नगरिने हो भने यो अवस्था थप विकराल बन्ने देखिन्छ,’ उनले भने ।
यमनमा हुथी विद्रोही र सरकारबीचको द्वन्द्वका कारण १० हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । तर, विभिन्न मानवअधिकारवादी समूहले अहिलेसम्म यमनमा कम्तीमा ६० हजार नागरिकको ज्यान गुमेको बताउने गरेका छन् । यमनमा लाखौँ मानिस अन्तरिक तथा बाह्यरूपमा द्वन्द्वका कारण विस्थापित बनेका छन् । (रासस)
प्रकाशित समय ०७:५६ बजे

















