गृहपृष्ठ आठ हजार सवारी पञ्जीकरण

आठ हजार सवारी पञ्जीकरण

yatayat-bibhag

यातायात व्यवस्था विभागमा पञ्जीकरण हुने सवारीको सङ्ख्या आठ हजारमात्र रहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा भएको व्यवस्थाबमोजिम मंसिर मसान्तसम्म पञ्जीकरण नहुने सार्वजनिक यातायात आगामी पुस १ गतेदेखि गुड्न नपाउने विभागले मङ्सिर २२ गते सूचना प्रकाशित गरी जानकारी गराएको थियो ।

विभागमा पञ्जीकरण हुन तोकिएको आठ महीनाको अवधिमा तीन हजार कम्पनीका आठ हजार सवारीको मात्र अभिलेख आएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ साल भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिका समेत जारी गरेको थियो ।

कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकरण नभएका सवारी सडकमा गुडे नियन्त्रणमा लिइने विभागले जनाएको छ । यसअघि संघ संस्था ऐनअनुसार सामाजिक संस्थाका रुपमा दर्ता भएका यातायात समितिलाई गत साउनदेखि नै नवीकरण बन्द गरिएको थियो । सवारी कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गरेपछि यातायात एकाधिकार हट्ने विश्वास गरिएको छ ।

यसअघि गत असारसम्म २९२ यातायात समितिमा दुई लाखभन्दा बढी सवारी आबद्ध थिए । सवारी कम्पनीमा दर्ता नभई सञ्चालन हुँदा यात्रुले दुःख पाउने गरेका छन् । यातायात सुधार अभियानमा लागेका रामबहादुर थापाले विभागको अलमलका कारण थोरै सवारीमात्र पञ्जीकरण भएको बताए ।
रासस

प्रकाशित समय १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु