गृहपृष्ठ व्यापार घाटालाई नकारात्मक रुपमा नलिन अर्थमन्त्रीको आग्रह
व्यापार घाटालाई नकारात्मक रुपमा नलिन अर्थमन्त्रीको आग्रह
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको व्यापार घाटालाई धेरै नकारात्मक रुपमा नलिन विदेशी दातृ निकायलाई आग्रह गरेका छन् । विश्व बैंक र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोमेन्टले तयार पारेको ‘अ ग्लास हाफ फुल’ प्रतिवदेन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘पुँजी निर्माणका लागि आयात गर्नुपर्छ, निर्यात कम र आयात बढी भएपछि व्यापार घाटा हुन्छ, त्यसैले नेपालजस्तो मुलुकमा भइरहेको व्यापार घाटालाई धेरै नकारात्मक रुपमा नलिन म आग्रह गर्न चाहान्छु ।’
दक्षिण एसियामा एउटै देशको अर्थतन्त्रको कूल हिस्सा ८० प्रतिशत रहेको बताउँदै उनले भने, ‘यस क्षेत्रको व्यापार पारस्पारिक हुन सक्दैन ।’
उनले मुलुकको उत्पादनले मात्रै धान्ने अवस्था नरहेकाले आयातमा अझै जोड दिनु परेको स्पष्ट पारे । ‘उत्पादन र अर्थतन्त्रमा गुणात्मक वृद्धि गर्ने बस्तुको आयातबाट आत्तिन हुँदैन,’ उनले भने । अन्तर्राष्ट्रिय व्यापारमा विभिन्न भौतिक समस्याले पनि बाधा पुर्याएको भन्दै उनले भन्सारमा साँघुरा सडक, पुराना पुलहरुको उचित मर्मत गर्नुपर्ने बताए ।

‘चुनौतीसँगै सम्भावना पनि छ’
विश्व बैंकको प्रतिवेदनमा व्यापार घाटा बढ्दै गएको र यो अर्थतन्त्रका लागि बिलकुल नकारात्मक संकेत भएको उल्लेख छ । नेपालले १ अर्ब डलर अर्थात कुल गार्हस्थ उत्पादनको ३७ प्रतिशत व्यापार घाटा बेहोर्दै आएको प्रतिवेदनले देखाएको छ ।
प्रतिवदेनले विभिन्न सम्भावना पनि देखाएको छ । नेपालले दक्षिण एशियाली देशमा ४ गुणाले निर्यात बढाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकका वरिष्ठ अर्थशान्त्री डा. सञ्जय कथुरिया नेतृत्वको टोलीले तयार पारेको प्रतिवदेनले दक्षिण एसियामा मानिसले व्यापारमा बनाएका विभिन्न अवरोधहरुले व्यापार वाधा निम्तिए पनि यस्ता वाधा हटाए ४ गुणाले व्यापार वृद्धि गर्न सक्ने देखाएको हो । केही नीतिगत व्यवस्था गरेर नेपालले आफ्नो अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सक्ने सुझाव पनि प्रतिवेदनले दिएको छ । नेपालले निर्यात बढाउन प्रचार, क्षमता र इलोक्ट्रोनिक डाटामा विशेष जोड दिनुपर्ने प्रतिवेदनको सुझाव छ ।
प्रकाशित समय १६:५३ बजे

















