गृहपृष्ठ तीन महिनाभित्रै सप्तरीबासीलाई राष्ट्रिय परिचयपत्र
तीन महिनाभित्रै सप्तरीबासीलाई राष्ट्रिय परिचयपत्र
अबको तीन महीनामा सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका जनप्रतिनिधिसँग राजविराजमा आइतबार गरेको अन्तक्र्रियामा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले प्रदेश नं २ को सप्तरी र महोत्तरीसहित देशको १५ वटा जिल्लामा व्यक्तिगत विवरणसहितको चिप्स कार्ड अर्थात् राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
राष्ट्रिय परिचयपत्र प्रक्रियाका लागि तीन महीना समय लाग्ने भएकाले केही दिनमै कर्मचारी छनोट गरिने उनले बताए । निर्देशक न्यौपानेले जिल्लाका १६ वर्षदेखि माथि उमेर पुगेका तीन लाख ८४ हजार ७८५ जना नागरिकलाई अबको तीन महीनामा परिचयपत्र वितरण गर्ने स्पष्ट पारे ।
जैविक तथा व्यक्तिगत विवरण र विद्युतीय चिप्स एवं सुरक्षासहितको परिचयपत्रमा बायोमेट्रिक प्रणाली प्रयोग गरी राष्ट्रिय परिचय नम्बर उल्लेख भएको कार्ड वितरण गरिने उनको भनाइ छ ।
आर्थिक वर्ष २०७४–०७५ भित्र जिल्लामा नागरिकता प्राप्त गरिसकेका नागरिकको परिचयपत्र बनाइसक्ने लक्ष्य रहेको न्यौपानेको भनाइ थियो ।
नेपालका प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने प्रणालीको विकास गरी नागरिकलाई प्रदान गर्ने उद्देश्य रहेको पनि उनले बताए ।
नेपाल सरकारले पहिलो चरणका लागि पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरणका लागि छनोट गरिएकामा सो कार्ड वितरण कार्य शुरु भइसकेको उनले जानकारी दिए ।
गृह मन्त्रालयले विदेशी कम्पनीबाट दुई लाख ५० हजारको क्षमता भएको सर्भर ल्याएको र केही थप सर्भर थपिने गरी तीन महीनाभित्रै परिचयपत्र वितरण कार्यक्रम शुरू गर्ने निर्देशक न्यौपानेको भनाइ थियो ।
प्रदेशसभा सदस्य नेत्रविक्रम साहले राष्ट्रिय परिचयपत्र वितरण कार्य प्रभावकारी बनाउन नागरिकताबाट वञ्चित भएका तथा जन्मसिद्धका आधारमा नागरिकता लिएका छोरा÷छोरीलाई वंशजका आधारमा दिएजस्तै राष्ट्रिय परिचयपत्र वितरण गर्नुपर्ने माग गरे ।
यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले एक व्यक्ति एक परिचयपत्र नम्बरका कारण सामाजिक सुरक्षा कार्यक्रम, समाजिक बीमा, पेन्सन सुविधा एवं सरकारबाट दिइने अन्य सेवा सुविधामा भइरहेको चुहावटमा राष्ट्रिय परिचयपत्रले सहयोग पुग्ने विश्वास व्यक्त गरे । (रासस)
प्रकाशित समय १३:५९ बजे

















