गृहपृष्ठ प्रदेशमै श्रम स्वीकृति : प्रदेश नं. २ किन छैन तयार ?
प्रदेशमै श्रम स्वीकृति : प्रदेश नं. २ किन छैन तयार ?
सरकारले यही पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृति दिने बताए पनि उक्त समयमा प्रदेश २ का सेवाग्राहीले यो सेवा लिन नपाउने देखिएको छ । श्रम तथा रोजगार मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालय तयार देखिएको छैन ।
मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दीबमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा शुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ । श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन् ।
श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले समयमै सेवा शुरु गर्न आन्तरिक तयारी भइरहेको दाबी गरे । जनशक्ति, प्रशिक्षण र प्रविधि जडानको गृहकार्य भइरहेको जानकारी दिँदै उनले भने, ‘पुस १५ देखि सेवा शुरु गर्न सकिने अवस्था हेरेर नै समयसीमा तोकिएको हो र सोहीबमोजिम तयारी भइरहेको छ ।’
श्रम कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले श्रम स्वीकृतिको काम प्रविधिमार्फत हुने हुनाले प्रविधि जडानसँगै काम शुरु गर्न समय नलाग्ने बताए । तोकिएको समयबाट नै सेवा शुरु हुने उनको भनाइ छ । नायब सुब्बा रमेशकुमार दासले दुई जना शाखा अधिकृत आउने तरखरमा रहेको जानकारी दिए । एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाट पुनःश्रम स्वीकृति दिने निर्णय मन्त्रालयले गरेको छ ।
प्रकाशित समय १४:११ बजे

















