गृहपृष्ठ नागरिकता र धनी पूर्जामा फरक विवरण हुँदा भूकम्पपीडित हैरान

नागरिकता र धनी पूर्जामा फरक विवरण हुँदा भूकम्पपीडित हैरान

कोञ्जेसोम गाउँपालिकाका भूकम्पपीडितले नागरिकता र जग्गाधनी पूर्जामा फरक विवरण हुँदा हैरान भएका छन् । दुई फरक कागजातमा भएको विवरण सजिलै सच्याउन नमिल्दा स्थानीयवासीले हैरानी बेहोरिरहेको गाउँपालिकाका प्रवक्ता सुविन्द्र तामाङले बताए ।

कतिपय स्थानीयवासीको नागरिकतामा तामाङ हुँदा जग्गाधनी पूर्जामा लामा, गोले, बोम्जनलगायतका तामाङ भित्रका थर छ । नागरिकतामा थर भएका लाभग्राहीको जग्गाधनी पूर्जामा तामाङ छ । त्यो सच्याउनका लागि धेरै निकाय पुग्नुपर्ने बाध्यता छ ।

‘स्थानीय तहले गरेको सिफारिश सजिलै कार्यान्वयन हुँदा स्थानीयवासीलाई सजिलो हुन्थ्यो,’ उनले भने । कतिपय स्थानीयवासीको नागरिकतामा र जग्गाधनी पूर्जामा बीचको नाम (बहादुर, कुमार, मानलगायत) छुट्दा पनि लाभग्राहीले हैरानी खेपीरहेका छन् ।

भूकम्पपीडितका लागि सरकारले व्यवस्था गरेको अनुदानका लागि स्थानीयवासी धेरै निकायमा धाउन बाध्य छ । पुनःनिर्माण प्राधिकरणले स्थानीय तहको बैंकमा पैसा पठाउँदा सहजरुपमा सेवा पाउने उनले बताए ।

अहिले प्राधिकरणका जिल्लास्थित कार्यालय र बैंकले स्थानीय तहको सिफारिश कार्यान्वयन नगरेको उनले बताए । ‘लाभग्राहीलाई सुविधा दिनका लागि कि त स्थानीय तहको खातामा पैसा पठाउनुपर्छ कि हाम्रो सिफारिस सजिलै कार्यान्वयन हुनुपर्छ,’ उनले भने । (रासस)

प्रकाशित समय १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु