गृहपृष्ठ नेप्से घट्दा पनि १० प्रतिशत मूल्य बढ्ने यी कम्पनी
नेप्से घट्दा पनि १० प्रतिशत मूल्य बढ्ने यी कम्पनी
परिसूचक घटे पनि कारोबारमा उत्साह उस्तै
सेयर बजार परिसूचक (नेप्से) सोमबार ६ प्रतिशतले घटेको छ । वित्त, उत्पादनमूलक, अन्य र जीवन बिमा समूह बढे पनि बैंक, व्यापार, होटल, विकास बैंक, जलविद्युत, निर्जीवन बिमा र लघुवित्त समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो । सबैभन्दा धेरै व्यापार समूह ४.८ प्रतिशतले घटेको छ ।
वित्तीय सुधारका लागि भएका प्रयास र ब्याजदर सीमाका कारण आइतबार ३२ अंकले बजार बढेको अनुमानबीच सोमबार नेप्से ६.४५ प्रतिशतले घटेर ११९१.७४ अंकमा झरेको छ । नेप्से घटे पनि कारोबार रकममा भने खासै ह्रास आएको छैन । सोमबार १६८ कम्पनीको ७९ करोड ८७ लाख रुपैयाँबराबरको २२ लाख ७६ हजार १७५ कित्ता सेयर किनबेच भएको छ । यो आइतबारको तुलनामा करिब करिब ८ करोड कम हो । आइतबार ८७ करोडको सेयर कारोबार भएको थियो ।
सोमबार एनएमबी बैंकको नै करोड ९५ लाख र ८ करोड २६ लाख रूपैयाँबराबरको प्राइम कमर्सियल बैंकको संस्थापक सेयर कारोबार भएको छ ।
नेप्से घट्दा पनि १० प्रतिशतको वृद्धि
नेप्से घट्दा पनि ग्लोबल आइएमई लघुवित्त र हाथवे फाइनान्सको सेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै, सिभिल लघुवित्तको सेयर मूल्य ९.९५ प्रतिशत र जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर मूल्य ९.८७ प्रतिशतले उकालो लागेको छ ।
ग्लोबल आइएमई लघुवित्तको प्रतिकित्ता सेयर मूल्य ११०० बाट बढेर १२१० रुपैयाँ पुगेको छ भने हाथवेको १२० रुपैयाँबाट बढेर १३२ रुपैयाँ पुगेको छ । त्यस्तै, सिभिल लघुवित्तको ६४ रुपैयाँ बढेर ७०७ रुपैयाँ र जलविद्युत लगानी तथा विकास कम्पनीको १५ रुपैयाँ बढेर १६७ रुपैयाँ पुगेको छ ।
सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनीको सञ्चालक समिति बैठकले पहिलोपटक १० प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको छ भने पुँजी वृद्धिका लागि शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको छ ।
साधारण सभाबाट हकप्रदको निर्णय पारित भएपछि कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ । त्यसका लागि सरकारले सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ । कम्पनीको जम्मा चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । हकप्रद सेयर निष्कासनसँगै कम्पनीको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।
प्रकाशित समय १५:५८ बजे


















