गृहपृष्ठ सिन्धुपाल्चोकमा आजदेखि राष्ट्रिय जलवायु सम्मेलन
सिन्धुपाल्चोकमा आजदेखि राष्ट्रिय जलवायु सम्मेलन
उद्घाटनका लागि राष्ट्रपति त्यसतर्फ जाँदै
सिन्धुपाल्चोकमा आज (सोमबार)देखि ‘राष्ट्रिय जलवायु सम्मेलन’ हुँदैछ । जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ सिन्धुपाल्चोकको ज्यामिरे गुफाडाँडामा सम्मेलन हुन लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलनका लागि काठमाडौँबाट अधिकांश सहभागी ज्यामिरे गुफाडाँडामा उपस्थित भइसकेका आयोजना मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए ।
सम्मेलनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहकाबीच उद्घाटन गर्नेछिन् । स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकूलनको योजना बनाउने तयारी गरिरहँदा सम्मेलन आयोजना गरिएको तामाङले बताए ।
सम्मेलनमा कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि हुने छलफलबाट सिन्धुपाल्चोक घोषणापत्र जारी गरी जलवायु अनुकूलन योजना निर्माणबारे सन्देशसँगै यसबारे सबैलाई सचेत गराउने सम्मेलनको मूलध्येय रहेको छ । जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइने तामाङले बताए । ‘जिल्लाका नदीनालामा बन्ने आयोजनाबाट जलवायु परिवर्तनमा पर्ने असर न्यूनीकरण र असर वापतको स्थानीयतहमा शुल्क व्यवस्थापनका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ,’ संयोजक तामाङले भने । सम्मेलनपछि सुन्दर हिमाली क्षेत्र गुफाडाँडा र आसपासका गाउँमा पर्यटक आगमनमा पनि वृद्धि हुने आयोजकको विश्वास छ ।
सम्मेलनमा देशका ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीन जनालाई निम्त्याइएको छ । सम्मेलनस्थलमा पोलमा ७७ वटै जिल्लाको नाम अङ्कित नेपालको झण्डा राखिएको छ । ‘सम्मेलनको उद्घाटनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख वा लिखित अख्तियारी प्राप्त समन्वय समितिका अन्य अधिकारीले प्रमुख अतिथिसँगै जिल्लाको नाम अङ्कित झण्डोत्तोलन गर्नुहुनेछ,’ तामाङदृ भने, ‘सम्मेलनका लागि करीब एक करोड रुपैयाँ खर्च हुने हाम्रो अनुमान छ ।’
प्रकाशित समय ०७:०२ बजे

















