गृहपृष्ठ कुल गार्हस्थ उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत
कुल गार्हस्थ उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत
दैनिक तीन करोड रुपैयाँको दूध उत्पादन, वार्षिक एक अर्ब राजस्व
मुलुकको कूल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत पुगेको एक तथ्यांकले देखाएको छ । नेपाल डेरी संघको वीरेन्द्रनगरमा सम्पन्न २० औँं राष्ट्रिय साधारणसभापछि यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो । दुग्ध उद्योगले सरकारलाई वार्षिक १ अर्ब राजश्व बुझाउँछ । दैनिक ३ करोड बराबरको दुग्ध उत्पादन गाउँबाट शहर प्रवाह भइरहेको संघले जनाएको छ ।
नेपालमा हाल ५० लाख लिटर दूध उत्पादन हुने गरेको छ । त्यसमध्ये कृषक स्वयंले ५० प्रतिशत दूध उपभोग गर्ने गरेका छन । कूल गार्हस्थ्य उत्पादनमा ९ प्रतिशत योगदान पुर्याएको क्षेत्रलाई समेत राज्यले उपेक्षामै राखेको दुग्ध व्यवसायीको गुनासो छ । ‘दुग्ध उद्योगमा ५ लाख कृषक परिवार रोजगारीमा आबद्ध छन, ३० हजार बढीले उद्योगमै प्रत्यक्ष रोजगारी पाएको अवस्था छ’, संघका महासचिव प्रल्हाद दाहालले भने, ‘सरकारले दिँदै आएको ५० प्रतिशत भ्याट छुट पनि हटाएको छ, जसले गर्दा आयातित दुग्ध पदार्थसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको छ ।’
कर्णाली प्रदेशमा भने दुग्ध क्षेत्रको अवस्था निकै कमजोर रहेको जनाइएको छ । जहाँका दुग्ध उद्योगले दैनिक १ लाख लिटर दूध उत्पादन गर्दै आएका छन । दुग्धजन्य घरेलु उद्योग १५० र डेरी काउन्टर २०० रहेको तथ्यांकमा उल्लेख छ । कर्णालीमा दैनिक २ लाख लिटर दूध कृषकले घरमै खपत गर्ने गरेका छन । यहाँ ५० प्रतिशत दूध अभाव रहेको संघको भनाइ छ । संघले वैदेशिक लगानीबिनै दुग्ध उद्योग सञ्चालन गर्न सकिने हुँदा यस क्षेत्रमा लगानीको उचित वातावरण बनाउन प्रदेश सरकारलाई आग्रह गरेको छ । दुग्ध क्षेत्रमा विदेशी लगानी आवश्यक नभएको तर भित्रिएको खण्डमा ५ लाख कृषक परिवारको रोजगारी जोखिममा पर्ने व्यवसायीको चिन्ता छ । ‘मुलुकको अर्थतन्त्रमा ह्रास मात्र नभई दूरदराजका बासिन्दाको एकमात्र आयस्रोत गुम्ने खतरा हुनसक्छ’, संघका निर्वतमान अध्यक्ष सुमित केडियाले भने ।
संघका अध्यक्ष राधाकृष्ण सापकोटाले प्रदेश नं ३ र ४ सरकारले प्रादेशिक दुग्ध विकास बोर्ड गठन गरिसकेको जानकारी गराए । बाँकी प्रदेशमा दुग्ध विकास बोर्ड गठन गर्न, दुग्ध विकास नीति परिमार्जन गर्न, उपकरण खरिदमा सहुलियत दिन, सातै प्रदेशमा पाउडर प्लान्ट स्थापनाका लागि सहयोग गर्न सरकारलाई संघले आग्रह पनि गरेको छ ।
प्रकाशित समय ०७:१५ बजे

















