गृहपृष्ठ पूर्वी नाकाबाट एक वर्षमा २४ महिलाको उद्धार
पूर्वी नाकाबाट एक वर्षमा २४ महिलाको उद्धार
सांकेतिक तस्बिर
माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्धार गरेको छ ।
काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो । सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम गरेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जानकारी दिए ।
संस्थाले ९१ जनालाई सीमानाकाबाट सोधपुछ गरी नेपाल फर्काएको थियो । बस, रिक्सा, टेम्पोलगायत सवारीसाधनका १६ हजार ११३ चालकलाई मानव बेचबिखनसम्बन्धी सचेतनासमेत प्रदान गरिएको घिमिरेले बताए । वैदेशिक रोजगार तथा अध्ययनका लागि भारत जान लागेका एक हजार ८६९ किशोरीलाई सुरक्षित बसाइँसराइबारे अवगत गराइएको तथा किशोरी तथा महिला हराएको १७९ निवेदन परेकामा ५८ जना फेला परेको संस्थाले जनाएको छ ।
प्रहरी प्रशासनसँगको समन्वयमा मानव बेचबिखनका तीन तथा जबर्जस्ती करणीका पाँच मुद्दा दर्ता गरिएको थियो ।(रासस)
प्रकाशित समय ०७:२७ बजे

















