गृहपृष्ठ सडक महोत्सवमा तनाव : ३६ जना पक्राउ, एक युवा गम्भीर घाइते
सडक महोत्सवमा तनाव : ३६ जना पक्राउ, एक युवा गम्भीर घाइते
अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरिएको पोखरा सडक महोत्सवमा अनावश्यक होहल्ला तथा झैझगडा गरेको भन्दै ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्सवस्थलको करिब ३ किलेमिटर क्षेत्रभित्र अनावश्यक होहल्ला तथा झैझगडा गर्ने ३६ जना पक्राउ परेको प्रहरी कार्यालय बैदामका प्रमुख नविन कार्कीले बताए ।
ती मध्ये ४ जनालाई सार्वजनिक मुद्दा दर्ता गरिएको कार्कीले जानकारी दिए । उनका अनुसार महोत्सवको स्टेजमै ढुंगामुडा प्रहार गर्ने पोखरा-१७ छोरेपाटनका १९ वर्षीय पुकार गुरुङ पक्राउ परेका छन् ।
उनले प्रहार गरेको ढुंगा प्रहरीलाई लागेको कार्कीले जानकारी दिए । त्यसै गरी मोत्सवमा झैझगडा गर्ने छोरेपाटनका १७ वर्षीय दीप गुरुङ, पोखरा-६ का १९ वर्षीय विवेक नेपाली र छोरेपाटनकै १८ वर्षीय अनमोल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

सडक महोत्सवमा एक युवा गम्भीर घाइते भएका छन् । पोखरा -१५ नयाँगाँउ बस्दै आएका १८ वर्षिय विकास नेपाली सोमबार लेकसाइडडको गौरीघाट क्षेत्रमा आफ्ना साथीसँग हिँड्दै गर्दा कुनै व्यक्तिको प्रहारबाट घाईते हुन पुगेका हुन् ।
उनको देब्रे तिघ्रामा गहिरो चोट लागेको छ भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोमबार राति करिब १०:३० बजे तिर पहिचान खुल्न नसकेको व्यक्तिबाट देब्रे तिघ्रामा गहिरो चोट लागेर सडकमा लड्न पुगेका उनलाई स्थानीय र सुरक्षाकर्मीको सहयोगले पोखराको नमस्ते अस्पतालमा उपचार गरिएको थियो ।
थप उपचारको लागि उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो । उक्त घटनामा संलग्न व्यक्तिहरु र घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए ।
प्रकाशित समय १९:४१ बजे

















