गृहपृष्ठ अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का अध्यक्ष १६ दिनदेखि बेपत्ता

अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का अध्यक्ष १६ दिनदेखि बेपत्ता

हराएका वडाध्यक्षको खोजीमा प्रशासनले सहयोग नगरेको आफन्तको गुनासो

bishnu pradas bhusal binod विष्णु प्रसाद भुसाल

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ अध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) बेपत्ता भएका छन् । पुस २ गते मालारानीबाट सरकारी सवारीसाधन चढेर सदरमुकाम सन्धीखर्क आएका भुसाल त्यसयता नफर्किएको परिवारजनले बताएका छन् ।

पुस २ गतेदेखि हराएका वडाध्यक्षको खोजीकार्यमा स्थानीय प्रशासन र स्वयं गाउँपालिकाले नै चासो नदेखाएको भाइ जीवलाल भुसालले बताए । सन्धीखर्क आएका उनी गुन्टेखोलामा रहेको यामहाको सोरुममा मोटरसाइकल मर्मत गरिदिनु भन्दै त्यहीँ छाडेर गोरुसिंगे (कपिलवस्तु) गएर आउँछु भन्दै सार्वजनिक बस चढेर हिँडेका थिए ।

यसरी हिँडेका भुसालको मोबाइल सोही बसमा भेटिएको छ । बसमा मोबाइल छोडेको भेटिएपछि बस चालकले आफन्तलाई फोन गरी मोबाइल फिर्तासमेत दिइसकेका छन् ।

आफन्तले गत पुस ४ गते नै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमामा खोजबिनका लागि निवेदन दिएका छन् । यस्तै, पुस १० गते उनीहरुले अर्घाखाँचीमा पत्रकार सम्मेलन गरी प्रशासन र गाउँपालिकास्तरबाट खोजबिनका लागि कुनै पनि चासो नदेखाएको भन्दै सार्वजनिक गरेका थिए ।

आफन्तहरुले बुधबार बुटवलमा पनि पत्रकार सम्मेलन गरी खोजीकार्यमा स्थानीय प्रशासन र गाउँपालिकालगायतका राजनीतिक दलबाट पनि सहयोग नभएको गुनासो गरे । बेपत्ता विष्णुप्रसाद भुसालका भाई जीवलालले प्रशासनले सहयोग नगरेकै कारण मिडिया क्षेत्र गुहार्नुपरेको बताए ।

भुसालका सानाबुबा (सानिमाका श्रीमान्) यदुनाथ पाण्डेले तत्कालीन नेकपा माओवादीमा रहेका भुसाल स्थानीय तहको चुनावमा नेकपा एमालेमा प्रवेश गरेका थिए । यदुनाथ पाण्डेका अनुसार मालारानी–१ मा भुसालको फर्निचर व्यवसायसमेत छ । गाउँमा कुनै पनि किसिमका मनमुटाव वा झै–झगडाको भएकोबारे थाहा नभएको आफन्तले बताएका छन् । उनीहरुले छिटोभन्दा छिटो खोजबिनका लागि प्रशासनसँग माग गरेका छन् ।

प्रकाशित समय ११:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु